काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमीटेडले नेपालकै लागि नौलो ‘बुक बिल्डिङ विधि’बाट आइपीओ जारी गर्दैछ । उसले आवश्यक सबै प्रक्रिया समयमै पूरा गरेको खण्डमा बुक बिल्डिङबाट आइपीओ जारी गर्ने देशकै पहिलो कम्पनी बन्ने श्रेय समेत पाउनेछ ।
सर्वोत्तम सिमेन्ट लिमीटेडले आफ्नो चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने ६० लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट निश्कासन गर्न खोजेको छ ।
कुल ६० लाख कित्तामध्ये २४ लाख कित्ता संस्थागत लगानीकर्ताका लागि, ८ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र बाँकी रहेको २८ लाख कित्ता कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।
नेपालको पूँजीबजारका लागि बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने प्रक्रिया नै बिल्कुल नौलो भएकोले यो विषयमा आम सर्वसाधारणमा द्विविधा रहेको पाइन्छ । यस्तो विधिमार्फत निश्कासन हुने धितोपत्रको मूल्यदेखि लिएर यो प्रक्रियाकै विषयमा समेत अन्यौल रहेको छ । अन्यौलताकै बीचमा लगानीकर्ताहरुले यो विधिलाई चाँडै रेसपोन्स गरेकोमा पूँजीबजारको नियामक धितोपत्र बोर्ड भने खुशी छ । ‘कोभिड प्रभावकै बीच हामीले बुक बिल्डिङको विषयमा निर्देशिका जारी गरेको ६ महिनामै बजारले यो विधिलाई रेसपोन्स गर्ला जस्तो लागेको थिएन ।’ धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले भने–‘केही समय लाग्ला भन्ने सोचिएको थियो, तर धेरै छिटो बजारले रेसपोन्स गरेका कारण हामी पनि उत्साहित छौं ।’
उनकाअनुसार धितोपत्र बोर्ड पनि यो विधिको पहिलो प्रयोग नै सर्वोत्तम सिमेन्टको आइपीओमार्फत हुने भएकोले यसलाई प्रभावकारी बनाउन चाहन्छ । कारण, पहिलो अभ्यास नै राम्रो भए, त्यसपछि यही विधिबाट आइपीओ जारी गर्ने अन्य कम्पनीलाई सहज हुनेछ, सिस्टम स्थापित हुनेछ ।
यो विधिको सफल कार्यान्वयनपछि वास्तविक र उत्पादनमूलक क्षेत्रका कम्पनीहरुको पूँजीबजारमा प्रवेश बढ्ने र यसले पूँजीबजारलाई अर्थतन्त्रको वास्तविक ऐनाको रुपमा स्थापित गर्नेमा केसी आशावादी देखिन्छन् ।
कस्तो छ व्यवस्था ?
बोर्डले यूरोप–अमेरिका तथा दक्षिण एशियाली बजारहरुमा स्थापित बुक बिल्डिङका विभिन्न मोडलहरुको अध्ययन गरी नेपाल सुहाउँदो मोडल विकास गरिएको बताएको छ । उसका अनुसार यहाँ कुल निश्कासन हुने कित्तामध्ये ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्तालाई र ६० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउने व्यवस्था लागू गरिएको छ । यो विधि अन्तर्गत भारतमा योग्य संस्थागत लगानीकर्ताका लागि ७० प्रतिशत सेयर छुट्याइन्छ ।
योग्य संस्थागत लगानीकर्तासँग विज्ञ टिम हुन्छ, त्यो टिमले सेयर जारी गर्न चाहेको कम्पनीको वित्तीय अवस्थालाई अध्ययन गरी भावी कार्यदिशा, रिटर्नको संभावना लगायतको विषयमा समेत राम्रो प्रक्षेपण गर्न सक्छ । यस्ता संस्थागत लगानीकर्ताले उचित मूल्य कोड गरेको खण्डमा बजारले चाहेको मूल्य र सेयर जारी गर्ने कम्पनीले लिन चाहेको मूल्यबीच सन्तुलन कायम हुने केसी बताउँछन् ।
उनका अनुसार सर्वसाधारण लगानीकर्ता भने बुक बिल्डिङको बिडिङ प्रक्रियामा सहभागी हुँदैनन् । योग्य संस्थागत लगानीकर्ताबाट आएको मूल्यमा १० प्रतिशत छुट दिएर अहिलेकै मोडलबाट सर्वसाधारणले आइपीओ भर्नेछन् । तर, यो विधिबाट आइपीओ भर्ने क्रममा अधिक कित्ता माग भएको खण्डमा बाँडफाँड गर्दा १० कित्ताको ठाउँमा न्यूनतम ५० कित्ता निर्धारण गरिनेछ र चिठ्ठाबाट सेयर पार्नेले न्यूनतम ५० कित्ता पाउनेछ ।
यसरी हुन्छ मूल्य निर्धारण
केसीकाअनुसार कम्पनीले व्यवस्थापन, बित्तीय अवस्था, भविष्यका प्रोजेक्सन र विवरण समेटेर प्रारम्भिक विवरणपत्र तयार गर्छ । त्यो विवरणपत्रसहित सेयर जारी गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल डाक्छ । त्यहाँ सेयर जारी गर्ने कम्पनीले आफ्नो मूल्य प्रस्ताव गर्छ । त्यो मूल्य जस्टिफाई गर्ने कोशिश हुन्छ, तर्क र आधार पनि पेश हुन्छन् । योग्य संस्थागत लगानीकर्तासँग भएको छलफलको ५ कार्यदिनभित्र संस्थागत लगानीकर्ताले इस्यू म्यानेजरसँग आशय मूल्य पेश गर्नुपर्छ । त्यस्तो मूल्य पेश गर्दा त्यसको प्रष्ट कारण र आधार समेत पेश गर्नुपर्ने हुन्छ । यस्तै, आशय मूल्यसँगै कति कित्ता सेयर किन्ने हो त्यो पनि प्रस्ताव गर्नुपर्छ ।
आशय मूल्य पेश गर्दा पनि म्यानुपुलेसन नहोस् भनेर त्यो मूल्य र त्यति कित्ता सेयर पछि पनि लिनैपर्ने गरी बाध्यकारी व्यवस्था गरिएको केसीले जानकारी दिए ।
योग्य संस्थागत लगानीकर्ताले पेश गरेका आशयमूल्यबाट कम्पनीले आधार दर(बेस प्राइस) तयार गर्छ । यसरी तोक्दा २० प्रतिशत माथि र तल हुने गरी अपर र लोअर लिमीट तय हुन्छ । उदाहरणको रुपमा यदि बेस प्राइस रु. ५०० छ भने लोअर लिमीटेड रु. ४०० र अपर लिमीट रु. ६०० हुन्छ । रु. ४०० र ६०० को बीचमा लिमीट तय हुन्छ । त्यो लिमीटभित्र रहेर योग्य संस्थागत लगानीकर्ताले बिडिङमा सहभागिता जनाउनेछन् । हाल नेपालमा ७४ वटा संस्थागत लगानीकर्ता छन् ।
यसरी लोअर र अपर लिमीटेडकै सीमामा रहेर बिडिङमा आएका मूल्यमध्ये धेरै प्रस्ताव गर्नेलाई प्राथमिकताका आधारमा बोलकबोलको विधिबाट संस्थागत लगानीकर्तालाई छुट्याइएको सेयर कित्ता बिक्री गरिन्छ ।
यो विधिमा बोलकबोलको अन्तिम मूल्यलाई कट अफ प्राइसको रुपमा लिइन्छ । कट अफ प्राइसको १० प्रतिशत छुट दिएर सर्वसाधारणका लागि सो धितोपत्रको मूल्य तोकिन्छ । उदाहरणको रुपमा कटअफ प्राइस ६०० भयो भने सर्वसाधारणका लागि ५४० रुपैयाँ मूल्य तोकिन्छ । त्यो मूल्य धितोपत्र बोर्डबाट स्वीकृत भएपछि सर्वसाधारणले आवेदन दिन पाउने मूल्य हुनेछ । त्यही मूल्यमा धितोपत्र खरीदका लागि सर्वसाधारणले अहिले आइपीओका लागि आवेदन दिएकै प्रक्रियाबाट खरीद आवेदन दिनसक्नेछन् ।
मागभन्दा बढी कित्ताका लागि आवेदन आएमा अहिलेकै प्रक्रियाजस्तो गोलाप्रथा गरिनेछ र सेयर बाँडफाँड हुनेछ । अहिले गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर बाँडफाँड गरिन्छ, तर बुक बिल्डिङ विधिबाट बाँडफाँड गर्दा भने न्यूनतम ५० कित्ता हुन्छ । अर्थात पाउनेले न्यूनतम ५० कित्ता सेयर पाउँछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago