 
                     
                                
                             
                                    काठमाण्डौ । कुनै पनि कम्पनीको आईपीओ निष्कासनका लागि बोलकबोल प्रक्रियाद्वारा सेयरको मूल्य पत्ता लगाउने विधिलाई बुक बिल्डिङ भनिन्छ।
यसका लागि लगानीकर्ताहरुबाट फरक–फरक सेयरमूल्यका प्रस्तावहरु संकलन गरिन्छ। लगानीकर्ताहरुबाट त्यस्ता प्रस्तावहरु फेस भ्यालुबराबर तथा सोभन्दा पनि बढी मूल्यमा हुन सक्छन्।
लगानीकर्ताहरु संस्थागत तथा सर्वसाधरण दुवै हुन्छन्। संस्थागत लगानीकर्ता भन्नाले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ता रुपमा काम गर्ने संस्थाहरु हुन्। सेबोनले हालसम्म ९५ वटा कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति दिएको छ।
कुनै पनि कम्पनीले आईपीओ जारी गर्दा यी संस्थागत कम्पनीहरुलाई कुल सेयरको ४० प्रतिशत र बाँकी ६० प्रतिशत सर्वसाधरणलाई बिक्री गर्नेछन्।
यसरी हुन्छ मूल्य निर्धारण
बुक बिल्डिङ गाइडलाइनका अनुसार कम्पनीले व्यवस्थापन, वित्तीय अवस्था, भविष्यका प्रोजेक्सन र विवरण समेटेर प्रारम्भिक विवरणपत्र तयार गर्छ।
त्यो विवरणपत्रसहित सेयर जारी गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल डाक्छ। त्यहाँ सेयर जारी गर्ने कम्पनीले आफ्नो मूल्य प्रस्ताव गर्छ। त्यो मूल्य जस्टिफाई गर्ने कोसिस हुन्छ। तर्क र आधार पनि पेस हुन्छन्।
योग्य संस्थागत लगानीकर्तासँग भएको छलफलको ५ कार्यदिनभित्र संस्थागत लगानीकर्ताले इस्यू म्यानेजरसँग आशय मूल्य पेस गर्नुपर्छ। त्यस्तो मूल्य पेस गर्दा त्यसको प्रस्ट कारण र आधारसमेत पेस गर्नुपर्ने हुन्छ। यस्तै आशय मूल्यसँगै कति कित्ता सेयर किन्ने हो, त्यो पनि प्रस्ताव गर्नुपर्छ।
आशय मूल्य पेस गर्दा पनि म्यानुपुलेसन नहोस् भनेर त्यो मूल्य र त्यति कित्ता सेयर पछि पनि लिनैपर्ने गरी बाध्यकारी व्यवस्था गरिएको बुक बिल्डिङ गाइडलाइनमा राखिएको छ।
कम्तीमा १० योग्य संस्थागत लगानीकर्ताले पेस गरेका आशय मूल्यबाट कम्पनीले आधार दर(बेस प्राइस) तयार गर्छ। यसरी तोक्दा २० प्रतिशत माथि र तल हुने गरी अपर र लोअर लिमिट तय हुन्छ।
उदाहरणका रुपमा यदि बेस प्राइस रु. ५०० छ भने लोअर लिमिट रु. ४०० र अपर लिमिट रु. ६०० हुन्छ। रु. ४०० र ६०० को बीचमा लिमिट तय हुन्छ। त्यो लिमिटभित्र रहेर योग्य संस्थागत लगानीकर्ताले बिडिङमा सहभागिता जनाउनेछन्।
यसरी लोअर र अपर लिमिटकै सीमामा रहेर बिडिङमा आएका मूल्यमध्ये धेरै प्रस्ताव गर्नेलाई प्राथमिकताका आधारमा बोलकबोलको विधिबाट संस्थागत लगानीकर्तालाई छुट्याइएको सेयर कित्ता बिक्री गरिन्छ।
यो विधिमा बोलकबोलको अन्तिम मूल्यलाई कट अफ प्राइसका रुपमा लिइन्छ। कट अफ प्राइसको १० प्रतिशत छुट दिएर सर्वसाधारणका लागि सो धितोपत्रको मूल्य तोकिन्छ।
उदाहरणका रुपमा कटअफ प्राइस ६०० भयो भने सर्वसाधारणका लागि ५४० रुपैयाँ मूल्य तोकिन्छ। त्यो मूल्य धितोपत्र बोर्डबाट स्वीकृत भएपछि सर्वसाधारणले आवेदन दिन पाउने मूल्य हुनेछ। त्यही मूल्यमा धितोपत्र खरिदका लागि सर्वसाधारणले अहिले आईपीओका लागि आवेदन दिएकै प्रक्रियाबाट खरिद आवेदन दिन सक्नेछन्।
मागभन्दा बढी कित्ताका लागि आवेदन आएमा अहिलेकै प्रक्रियाजस्तो गोलाप्रथा गरिनेछ र सेयर बाँडफाँड हुनेछ। अहिले गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर बाँडफाँड गरिन्छ। तर, बुक बिल्डिङ विधिबाट बाँडफाँड गर्दा भने न्यूनतम ५० कित्ता हुन्छ। अर्थात पाउनेले न्यूनतम ५० कित्ता सेयर पाउनेछन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19