काठमाण्डौ । निर्माणाधीन जलविद्युत आयोजनाका लागि बित्तीय स्रोत जुटाउने उद्देश्यले बुटवल पावर कम्पनी लिमीटेडले ३० लाख कित्ता सेयर एफपीओ(फर्दर पब्लिक अफरिङ) गर्ने भएको छ । 

कम्पनीको सोमबार बसेको बोर्ड बैठकले प्रिमियम मूल्यमा ३० लाख कित्ता सेयर एफपीओको प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको हो । 

प्रिमियम मूल्यमा एफपीओ गर्ने भनिए पनि त्यसको मूल्य भने तोकिसकिएको छैन । एफपीओको मूल्य आगामी असार २७ गते बोलाइएको विशेष साधारणसभाबाट तय हुने कम्पनीले जनाएको छ । 

बुटवल पावरमा पञ्चकन्या र ज्योति समूहको संलग्नता रहेको सांग्रिला इनर्जी कम्पनीको ७५ प्रतिशत, नेपाल सरकारको १३ र सर्वसाधारणको १२ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

यो कम्पनीको स्वामित्वमा १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजना र ९.४ मेगावाट क्षमताको आँधीखाली जलविद्युत आयोजनामा संचालनमा छन् भने अन्य करिब आधादर्जन जलविद्युत कम्पनीमा यसले लगानी गरेको छ । ६० मेगावाटको खिम्ती जलविद्युत योजना, खुदी जलविद्युत, ३० मेगावाटको न्यादी जलविद्युत आयोजना लगायतमा बुटवल पावरको लगानी छ । यो कम्पनीको सहायक कम्पनीको रुपमा दुई ठूला परियोजना समेत अगाडि बढाएको छ । 

कम्पनीले गत वर्ष आर्जन गरेको ४७ करोड खूद नाफाबाट यो वर्ष २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीको खूद नाफा ५८ करोड ५५ लाख पुगेको छ । कम्पनीको शेयर चुक्तापूँजी १ अर्ब ६७ करोड रहेको छ भने रिजर्भ १ अर्ब ९९ करोड रहेको छ । 

के हो एफपीओ ?
अंग्रेजीमा फर्दर पब्लिक अफरिङको छोटकरी रुप नै एफपीओ हो । यसको नेपाली अर्थ ‘पुनः सार्वजनिक निश्कासन’ भन्ने हुन्छ । एकपटक सर्वसाधारणलाई सेयर जारी गरिसकेको कम्पनीले पुनः सर्वसाधारणलाई सेयर जारी गर्नुलाई पुनः सार्वजनिक निश्कासन भनिन्छ । हकप्रद निश्कासन जस्तै साधारण सेयरको पुनः सार्वजनिक निश्कासन(एफपीओ) पनि पूँजी बढाउन कम्पनीले जारी गर्ने सेयर हो । हकप्रद सेयर सम्बन्धित कम्पनीको सेयर भएका सेयरधनीले मात्र किन्न सक्छ भने पुनः सार्वजनिक निश्कासन गरिएको सेयर जोकोहीले किन्न सक्छ ।