काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरका लागि बुटवल पावर कम्पनी लिमिटेडको सेयरमूल्य बुधबार समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत वर्षका लागि १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको बुटवल पावरको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ति ३२० रुपैयाँ कायम गरेको हो । अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबार खुल्नेछ ।

कम्पनीले १० प्रतिशत बोनस र १८ प्रतिशतले नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीको यही पुस २४ गते हुने २७ औँ वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ । 

साधारणसभाका लागि आज (पुस ९ गते) देखि पुस २४ गतेसम्म बुक क्लोज गरिएको छ । पुस ८ गतेसम्म कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।