काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १ हजार २०० मेगावाट(मेवा) क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारी(पीपीपी) मा तत्काल अगाडी बढाउन आग्रह गरेका छन् । 
 

गोरखा चेम्बर अफ कमर्सद्वारा गोरखामा आयोजित कृषि, पर्यटन तथा व्यपार प्रवर्द्धन मेलालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया पीपीपी मोडलमा तत्काल शुरु गर्नुपर्नेमा जोड दिए ।
 

अध्यक्ष मल्लले भने, ‘नेपालबाट भारतमा १० वर्षमा १० हजार मेवा विद्युत् निर्यात गर्ने सम्झौता भएको छ, यसलाई कार्यान्व्यन गर्नका लागि पनि बुढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक पीपीपीमा अघि बढाउन आवश्यक छ । निजी क्षेत्र लगानीका लागि तयार छन् ।’
 

उनले विद्युत् निर्यातबाट विद्यमान व्यापार घाटा कम गर्न सकिने पनि औंल्याए । अर्को प्रसंगमा अध्यक्ष मल्लले नेपालको आर्थिक विकासका लागि जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीति योजना तर्जुमा हुनुपर्नेमा जोड दिए ।
 

कृषिलगायतका स्थानीय उत्पादनको बजारीकरण एवं प्रवर्द्धनका लागि संघ, प्रदेश र स्थानीय तह बीच प्रवाभकारी समन्वय हुनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । नेपालको जडीबुटीलाई प्रवर्द्धन एवं प्रशोधन गरी निर्यात गर्नुपर्नेमा पनि उनले जोड दिए ।

मुलुकको अर्थतन्त्र शिथिल हुँदै जाँदा नागरिकको क्रय क्षमता समेत कमजोर हुँदै गएको अध्यक्ष मल्लले बताए।

मुल्यवृद्धि नियन्त्रण गरेर नागरिकको दैनिकीलाई सहज बनाउनुपर्ने भन्दै अध्यक्ष मल्लले  बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदरका कारण अझै पनि कर्जा विस्तार हुन नसकेको बताए ।