काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन नै ७.९९ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

कम्पनीले आज असोज ११ गतेबाट १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। कुल निष्कासन गरिएको कित्तामध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिको तथा ६ प्रतिशतले हुने १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा ४ लाख ५३ हजार ७७८ आवेदकबाट कुल ५९ लाख ४९ हजार ९४० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ७.९९ गुणाले बढी हो। 

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

पहिलो दिनै मागभन्दा बढी आवेदन परेपछि बुद्धिभूमि नेपालको आईपीओ निष्कासन बन्द असोज १४ गते हुनेछ भने आईपीओ बाँडफाँड गोलाप्रथाबाट हुने निश्चित भएको छ। 

धितोपत्र बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। 

यसअघि यो कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। 

यो कम्पनीले नुवाकोट जिल्लामा ४.९९३ मेगावाट क्षमताको तल्लो टाँडीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको प्रतिमेगावाट लागत २३.८ करोड रुपैयाँ रहेको छ। यो कम्पनीको लगानी फिर्ता हुने अवधि ९पे ब्याक पिरियड० ५.४९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ८.५८ वर्ष रहेको छ।