– प्रकाश न्यौपाने

काठमाण्डौ । सेयर बजार लगानीका लागि जोखिमपूर्ण क्षेत्र हो। आफैँले अध्ययन गरेरमात्र सेयर बजारमा लगानी गर्नुपर्छ। 

नेपालको सेयर बजारलाई पछाडि फर्केर हेर्दा हरेक बुलमा फरक–फरक कम्पनीको सेयरभाउले उच्च रेकर्ड बनाएको देखिन्छ। लगानीका लागि बलिया र राम्रा कम्पनी छान्ने लगानीकर्ताको संख्या धेरै भए पनि केही लगानीकर्ता भने सस्ता र कमजोर कम्पनीमा लगानी गर्न रुचाउँछन्। 

पछिल्लोपटकको ३२०० को बुलमा बलिया र महँगामात्रै नभई सस्ता र कमजोर कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरु पनि मालामाल भए। बजार घटेर तल्लो विन्दुमा आएको बेला कस्ता कम्पनीमा लगानी गर्ने भन्ने कुरा लगानीकर्ता आफैँमा भर पर्छ। 

२०२० जुलाई १ मा गोर्खाज फाइनान्सको सेयरमूल्य प्रतिकित्ता १०५ रुपैयाँ थियो। २०२१ जुलाई १५ मा प्रतिकित्ता १४४३ रुपैयाँसम्म पुग्यो। अहिलेसम्ममा एकपटकमात्र लाभांश दिएको यो फाइनान्सको सेयरभाउले दोस्रो बजारमा कारोबार हुने राम्रा र बलिया कम्पनीको भन्दा दोब्बर मूल्यको रेकर्ड बनायो। 

त्यसैगरी नेसनल हाइड्रोपावर कम्पनीको सेयरमूल्य पनि २०२० जुलाई २६ का दिन प्रतिकित्ता ४८ रुपैयाँमा कारोबार भएको थियो। निकै कमजोर मानिएको यो कम्पनीको सेयर २०२१ अगस्ट २१ मा ५०० रुपैयाँमा कारोबार भयो। तल्लो विन्दुमा खरिद गरेर होल्ड गरी ५०० रुपैयाँको उच्च विन्दुमा बिक्री गर्ने लगानीकर्ताले करिब १ वर्षमै १० गुणा नाफा कमाउन सफल भए। 

त्यस्तै बलिया कम्पनी मानिएका हिमालयन डिस्टिलरी र साल्ट ट्रेडिङ कर्पोरेसनमा लगानी गर्ने लगानीकर्ताले पनि राम्रै नाफा कमाए। २०२० जुलाई १ मा हिमालयन डिस्टिलरीको सेयरमूल्य प्रतिकित्ता ११८० रुपैयाँ थियो। २०२१ अगस्ट १९ मा यो कम्पनीको सेयरभाउ प्रतिकित्ता ७९०० रुपैयाँसम्म पुग्यो। योबीचमा यो कम्पनीले ४०० प्रतिशतभन्दा बढी लाभांश पनि वितरण पनि गर्यो। 

२०२० मार्च १७ मा साल्ट ट्रेडिङ कर्पोरेसनको सेयरभाउ प्रतिकित्ता २२९० रुपैयाँ थियो। २०२१ जनवरी ४ मा यो कम्पनीको सेयरभाउ प्रतिकित्ता १३३३९ रुपैयाँको उच्च स्तरमा पुग्यो। तल्लो विन्दुमा खरिद गरेर उच्च विन्दुमा बिक्री गर्न सफल लगानीकर्ताले मनग्य कमाउन सफल भए भने उच्च विन्दुमा खरिद गरेर बसेका लगानीकर्ता भने जति नै लाभांश खाए पनि घाटामै रहेको देखिन्छ।

यी कम्पनीहरु त उदाहरणमात्रै हुन्। तल्लो विन्दुमा खरिद गरेर ३२०० को बुलमा बेच्नेहरु लगानीकर्ताहरुले मनग्य कमाए। तर, त्यही विन्दुमा खरिद बसेकाहरु भने अहिले पनि घाटामै छन्। 

बजार जानकार प्रकाश रजौरे लगानीकर्ताले दीर्घकालीन लगानीका लागि राम्रा र बलिया कम्पनी रोज्नुपर्ने सुझाव दिन्छन्। ‘बजारको लयअनुसार कम समयमै नाफा कमाउन सस्ता कम्पनीमा भने अल्पकालका लागि लगानी गर्न सकिन्छ’, उनले भने, ‘तर, त्यस्ता कम्पनीमा लगानी गर्दा धेरै जोखिम हुने भएकोले जोखिम उठाउन सक्नेले मात्रै लगानी गर्नुपर्छ।’

त्यसैले दीर्घकालका लागि राम्रै कम्पनीमा लगानी गर्दा बजार घटेको बेला पनि जोखिम कम हुने रजौरे बताउँछन्। ‘तर, उच्च विन्दुमा पुगेको बेला कमजोर कम्पनीमा लगानी गरेर बजार घट्न थालेपछि सेयर बेच्न नसकेमा भने लगानी डुब्ने अवस्था पनि आउन सक्छ’, उनले भने, ‘त्यसकारण कमजोर कम्पनीका सेयरहरु लामो समय होल्ड गर्नुहुँदैन, अल्पकालका लागिमात्रै लगानी गर्न उपयुक्त हुन्छ।’

अर्का बजार जानकार केशव कोइराला (काका) हरेक बुलमा राम्रा र नराम्रा दुवै थरीका कम्पनीको सेयरभाउ बढ्ने गरेको बताउँछन्। ‘तर बुलमा फरक–फरक कम्पनीले टप लगाउने हुनाले लगानीकर्ताले नै कम्पनीको आधारभूत र प्राविधिक पक्ष विश्लेषण गरेर अल्पकालीन र दीर्घकालीन योजना बनाउँदै लगानी गर्नुपर्छ।’

बजार रणनीति बनाएर लगानी गर्दा कमजोर र बलिया दुवै थरीका कम्पनीबाट मनग्य कमाउन सकिने कोइराला बताउँछन्। 

सेयर बजारमा लगानी जोखिमपूर्ण हुने भएकोले लगानीकर्ता स्वयंले दीर्घकालीन र अल्पकालीन लगानीका लागि उपयुक्त कम्पनीहरु छनोट गर्नुपर्ने लामो समयदेखि बजारमा सक्रिय लगानीकर्ता दिनेश थपलिया बताउँछन्। ‘कस्ता कम्पनी होल्ड गर्दा र कस्ता कम्पनी कम समयमै खरिद–बिक्री गर्ने भन्ने योजना लगानीकर्ता स्वयंले बनाउनुपर्छ’, उनले भने, ‘अरुले भनेकै भरमा लगानी गर्नेहरु फस्न पनि सक्छन्। त्यसैले बजारको राम्ररी अध्ययन गरेर लगानी गर्नेहरुले बुलिस र बियरिस जुनसुकै ट्रेन्डमा जस्तोसुकै कम्पनीबाट पनि नाफा कमाउन सक्छन्।’