– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर कारोबार एउटा व्यापार नै हो। व्यापारमा जहिले पनि योजना तथा रणनीतिले काम गर्छ।
सेयर बजारमा विभिन्न लगानीकर्ताको आ–आफ्नै रणनीति तथा योजना हुन्छन्। त्यस्ता रणनीति तथा योजना समयानुकूल हुन आवश्यक पनि हुन्छ। एउटा कुनै कालखण्डमा बनाएको योजना तथा रणनीतिले अर्को समय वा कालखण्डमा पुगेपछि काम नगर्न पनि सक्छ। किनकि सेयर बजारमा विविध कारण जस्तै– नियामकको नीति–नियम र मुद्रा बजारलाई नियन्त्र गर्ने नेपाल राष्ट्र बैंकको नीति–नियमले अप्रत्यक्ष वा प्रत्यक्ष रुपमा प्रभाव परिरहेकै हुन्छ।
राष्ट्र बैंकले खासगरी मुद्रा बजारलाई नियन्त्रण गर्छ। राष्ट्र बैंकले विशेषगरी मुद्रास्फीति तथा महँगी नियन्त्रण गर्ने भए पनि हाम्रो पुँजी बजारमा ६० प्रतिशत हिस्सा बैंक तथा वित्तीय क्षेत्रले ओगट्ने भएकोले गर्दा मौद्रिक नीतिले पुँजी बजारमा प्रभाव पारेको हो। यसको ज्वलन्त उदाहरणका रुपमा यसअघिका गभर्नर चिरञ्जीवी नेपालको पालामा ल्याइएको बैंक तथा वित्तीय क्षेत्रको पुँजी वृद्धिलाई लिन सकिन्छ। त्यसपछि भने हरेक वर्ष आउने मौद्रिक नीति लगानीकर्ताले बढी ध्यान दिन थालेको पाइन्छ।
यी र यस्तै कारणले लगानीकर्ताका चाहनाअनुसार वा उनीहरुले बनाएका योजनाहरु सधैँ हुबहु लागू नहुन पनि सक्छ। त्यसैले योजाना तथा रणनीति समय र परिस्थितिअनुसार परिवर्तन गरी तय गरिनुपर्छ।
लगानीकर्ताले बनाउने यस्ता योजना तथा रणनीति विशेषगरी आफूले लिएको पैसाको स्रोत, त्यसको समयावधि र ब्याज दरमा भर पर्छ। अर्थात् तपाइँले चलाएको पैसा कति समयावधिको हो ? बजारमा ब्याज दरको अवस्था कस्तो छ ? यसले तपाइँले बनाएको योजना र रणनीतिलाई प्रभाव पार्छ। यदि तपाइँको पैसा आफ्नै हो र राम्रो प्रतिफल दिने कम्पनीमा लगानी छ भने तपाइँले सेयर बजारमा दीर्घकालीन योजनाअनुसार कम्तीमा एउटा ठूलो बुल तथा उछालसम्म कुर्न उपयुक्त हुन सक्छ। यदि तपाइँको पैसाको स्रोत ऋणमार्फत लिइएको हो भने बेला–बेलामा तपाइँले निश्चित प्रतिशत नाफा अर्थात प्रफिट मार्जिनलाई ख्याल गर्नुपर्छ। यसका लागि कुन सेक्टर चलेको छ, अब कुन सेक्टर चल्छ, त्यस्ता सेक्टरका पनि कुन कम्पनीले अब बजारलाई लिड गर्ला ? भन्ने विषयमा महत्वपूर्ण हुन सक्छ। यसका लागि सूचना निकै महत्वपूर्ण हुन्छ। यदि तपाइँमा प्राविधिक ज्ञान छ भने स्विङ ट्रेड पनि उपयुक्त हुन सक्छ।
लगानी तथा रणनीति तय गर्दा ध्यान दिनुपर्ने केही विषय हामीले यहाँ प्रस्तुत गरेका छौँ-
ब्याज दर
पुँजी बजारमा ब्याजदर निकै महत्वपूर्ण हुन्छ। राष्ट्रको ढुकुटीमा शोधान्तर घाटा बढ्दै जाने र तरलतामा विस्तारै चाप पर्दै गएर ब्याजदर बढ्ने तथा उच्च ब्याजमा डिबेन्चर इस्यू हुन थालेमा पुँजी बजारमा यसको असर सीधा पर्न सक्छ। ब्याज दर बढ्नेबित्तिकै धेरैजसो बचतकर्ता पनि त्यता आकर्षित हुने तथा ब्याजदर महँगो परेपछि सेयरमा लगानी गर्नेहरु निरुत्साही हुने हुँदा लगानीको रणनीति तथा योजना ब्याजदरका आधारमा निर्माण र परिमार्जन गर्दै जान उपयुक्त हुने देखिन्छ।
बजारको ट्रेन्ड र मनोविज्ञान
सेयर बजारमा सबैभन्दा महत्वपूर्ण ट्रेन्ड हो। लगानीकर्ताले सबैभन्दा पहिला बजारको ट्रेन्ड र आमलगानीकर्ताको मनोविज्ञान कस्तो बनेको छ ? धेरै लगानीकर्ता के सोच्छन् र के भन्छन् ? भन्ने विषयमा बढी जानकार हुन आवश्य देखिन्छ।
अनुशासित लगानी
सेयर बजारमा लगानी गर्ने लगानीकर्ता अनुशासित हुनुपर्छ। छिटै आत्तिने र मात्तिनेभन्दा पनि सोचविचार गरेर एउटा समयमा किन्ने र एउटा समयमा बेच्ने गर्नु नै उपयुक्त हुन सक्छ।
जिरो इन्भेस्टमेन्ट पोलिसी
सेयर बजारमा सबैभन्दा उपयुक्त तरिका भनेको जिरो इन्भेस्टमेन्ट पोलिसी हो। यो भनेको तपाइँको लगानीलाई कुनै समयमा सेयरमा मूल्य बढ्दै गएपछि आफ्नो लगानीबराबरको रकम बेचर नाफाको मात्रै लगानी पुँजी बजारमा छोड्ने भन्ने हो। यसो भएमा सेयर बजारमा जस्तोसुकै अवस्था आए पनि तपाइँले जित्नुहुन्छ। यदि बजार तपाइँले बेचेपछि घट्यो भने किन्ने पैसा हुन्छ भने बढ्यो भने र राम्रो प्रतिफल दिने कम्पनी छ भने प्रतिफल तथा पुँजीगत लाभ दुवै हुन्छ। त्यसैले यो रणनीति धेरै उपयुक्त हुन्छ।
लगानी विविधीकरण
यो भनेको तपाइँको लगानी सबै सेक्टरमा मिलाएर लगानी गर्नु हो। नेपालको पुँजी बजारमा ४० प्रतिशत वाणिज्य तथा डेभलपमेन्ट बैंक, २० प्रतिशत इन्स्योरेन्स, २० प्रतिशत लघुवित्त तथा बाँकी जलविद्युत र अन्य क्षेत्रमा लगानी गर्दा बढी सुरक्षित हुन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19