– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत तीन दर्जनभन्दा बढी जलविद्युत कम्पनीमध्ये अपी पावर पनि एउटा हो। अपी पावर २०६० मा स्थापित एउटा माउ कम्पनी हो।
यो कम्पनीले विभिन्न ठाउँमा जलविद्युत आयोजनाहरु निर्माण गरिरहेको छ। जसअन्तर्गत दार्चुलाको चमेलिया नदीमा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणाधीन छ। यो आयोजना आगामी फागुनसम्म बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ।
त्यस्तै रन अफ द रिभरमा आधारित अर्को छुट्टै ८ मेगावाटको माथिल्लो नौगाढ जलविद्युत आयोजना र ८.५ मेगावाटको तल्लो नौगढ जलविद्युत आयोजना गरेर यो कम्पनीको कुल ५६.५ मेगावटका जलविद्युत आयोजनाहरु निर्माणाधीन छन्।
कम्पनीले थप पुँजी जुटाउन चुक्तापुँजीको ३९.३६ प्रतिशत हकप्रद सेयर पनि ल्याउँदैछ। विद्युत नियमन आयोगबाट स्वीकृत पाएको यो हकप्रद अहिले नेपाल धितोपत्र बोर्डबाट निष्कासनको स्वीकृत पर्खाइमा छ।
चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म अपी पावरको चुक्तापुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। रिजर्भमा १६ करोड ५९ लाख रुपैयाँ छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११.१२ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३८.५ गुणा र नेटवर्थ १०६ रुपैयाँ रहेको छ।
यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिसेयर ५५७ रुपैयाँ कायम भएको छ।
प्राविधिक विश्लेषण
इलिअट वेभ सिद्धान्तका आधारमा
यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यसले लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण मानिन्छ।
यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्री सानाठूला गरी १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्।
इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका हुन्छन्। यसमा १, ३ र ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ‘ए’ हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छ।
यो कम्पनीले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा हाल माइनर डिग्रीको वेभ ३ चलेको देखिन्छ। जसलाई फिवोनासीमा जोडेर हेर्दा १.६१ प्रतिशतको वृद्धिमा ६५२ रुपैयाँसम्म पुग्ने देखिन्छ भने वेभ ४ बन्दा सामान्य करेक्सन भएर ६०० रुपैयाँसम्म आउन सक्छ। त्यसपछि माइनर डिग्रीकै वेभ ५ तथा फिवोनासीको २.६१ को वृद्धि भएर यो कम्पनीको सेयरमूल्य बजारको यो बुलमा ८०० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो कम्पनीको भाउ घटेमा ०.२३ प्रतिशतको टेवामा ५२९ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा ५०१ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा ४७८ रुपैयाँसम्म तथा ०.६१ प्रतिशतको टेवामा ४५६ रुपैयाँसम्म आउन सक्ने देखिन्छ।
एमएसीडी लाइनका आधारमा
सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ।
यो लाइनलाई आधार मान्ने हो भने गत जनवरी ३ मा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। जसले बुलिस सिग्नल भर्खरै बनेको देखिन्छ। हिस्टोग्राम भने नेगेटिभ नै रहेको देखिन्छ (हेर्नुहोस् कालो एरो)। यसले केही समय सेयरको भाउ बढ्न सक्ने बुझिन्छ।
बोलिंगर ब्यान्डका आधारमा
यो सिद्धान्त सन् १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो ९बीचको० सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो।
यो औजारअन्तर्गत यो कम्पनीको मूल्य रेखाले माथिल्लो ब्यान्डलाई छोएको छ र माथि लामो धागोसहितको रातो क्यान्डल बनेको छ। यसले सेयरमूल्यमा सामान्य करेक्सन हुन सक्ने बुझिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन छुट्याइन्छ।
यस कम्पनीको हालको आरएसआई ६४ मा रहेको छ। अघिल्लोपल्ट यो न्यून विन्दु २७ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम बिन्दु ७४.५५ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाइ आधार मान्दा सेयरको मूल्यमा बुलिस सिग्नल देखिन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : ५१५
घटेमा सपोर्ट
निष्कर्ष
यो कम्पनीको आधरभूत रुपमा पनि एउटा बलियो कम्पनी बन्दै गएको देखिन्छ। किनकि अन्य सहायक आयोजनाहरुको निर्माणकार्य छिट्टै सम्पन्न हुने देखिएको छ। प्राविधिक रुपमा पनि इलिअट वेभ ३ चल्दै गरेको देखिन्छ। यस आधारमा पनि कम्पनीको सेयर मूल्य केही समय बढ्न सक्ने देखिन्छ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचनालाई स्वागत गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19