काठमाण्डौ । तीन दिनको लगातारको उछालपछि बुधबार बजारको बढोत्तरी यात्रामा ब्रेक लागेको छ । लगातार बुलिस गतिमा कुदेको बजारमा बुधबार ७.३२ अंकको करेक्सन आएको हो । 

बढ्दो बजारमा करेक्सन आउनु स्वभाविक प्रक्रिया हो । बजारमा करेक्सन आउनुको अर्थ प्रफिट बुक गर्नेहरु हाबी भए भन्ने हो भने लङ रेशको बुलिस यात्राको सामान्य पूर्व संकेत पनि हो । उस्तै तीव्र गतिमा कुनै गाडी कुदिरहने हो भने जुनसुकैबेला दुर्घटनाको खतरा हुन्छ, तर बेला बेला ब्रेक लगाउँदै अगाडि बढाउँदा सहज, सफल र सरल यात्रा संभव हुन्छ । सेयर बजारमा समेत यही नियम लागू हुन्छ । बुधबारको बजार करेक्सन यही रुपमा बुझ्नुपर्ने विश्लेषक बताउँछन् । 

बजारमा सामान्य अंकको करेक्सन भएको यो दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेर ७३ करोडमा सीमित बन्न पुगेको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा मात्रै कमी हो, समग्रमा भने ७३ करोडको कारोबार हुनु राम्रो संकेत रहेको विश्लेषक दाबी गर्छन् । 

यो दिन बजारका ४ समूहको उपसूचकमा हरियो पोतियो भने बाँकी मात्रै रातो पोतियो । 

अघिल्ला दुई दिन चम्किएको बैंकिङ समूह ११.२१ अंकले घट्यो भने विकास बैंक समूहमा ८.६३ अंक,होटल समूहमा १७.७१ अंक, व्यापार समूहमा ७.५८ अंक, जलविद्युत समूहमा ५.२१ अंक, निर्जीवन बिमा समूहमा ६१.९४ अंक र जीवन बिमा समूहमा ११.११ अंकको गिरावट आयो । 

बित्त समूहमा ५.५९ अंकले बढेको यो दिन शिवम सिमेन्टको मूल्यमा सुधार हुँदा उत्पादन तथा प्रशोधन समूहमा १३.७६ अंकले बढ्यो । 

माइक्रोफाइनान्स समूह १४.४६ अंकले बढेको यो दिन  अन्य समूहमा ०.३३ अंकको सुधार देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७२ कम्पनीका २१ लाख ८५ हजार ३९७ कित्ता सेयर ७३ करोड  ८ लाख ५२ हजार ३४५ रुपैयाँमा किनबेच भए । 

सबैभन्दा बढी वोमी माइक्रोफाइनान्सले  ७ करोड १५ लाख बढीको कारोबार गर्यो । एनआइसी एशियाले ४ करोड २८ लाख बढीको कारोबार गरेको यो दिन माछापुच्छ्रे बैंकले २ करोड ३६ लाख, डिप्रोक्स लघुवित्तले २ करोड ३४ लाख, प्रभू बैंकले २ करोड १३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ९८ लाख, एनएमबी बैंकले १ करोड ९४ लाख, नेपाल बैंकले १ करोड ५१ लाख, नवील बैंकले १ करोड २८ लाख र एभरेष्ट बैंकले १ करोड २५ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ता मालामाल बने । धेरै कमाउने मुख्य १० कम्पनीको सूचिमा ६ स्थान माइक्रोफाइनान्सले कब्जा गरे । 
समता माइक्रोफाइनान्स र वोमी माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लाग्यो । रिलायन्स फाइनान्सको मूल्य समेत ९ प्रतिशतको हाराहारीमा बढ्यो । 

मूल्य समायोजनका लागि लुम्बिनी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ७.३५ प्रतिशतले घट्यो । अरुण काबेली पावर लिमीटेडको मूल्य ४.२० प्रतिशतले घट्यो ।