-धर्म मलासी
काठमाण्डौ । हरेक साताको पहिलो दिन स्टक ब्रोकर हाउसमा पुगेर स्थलगत जानकारी लिने स्तम्भ ‘ग्राउन्ड जिरो’लाई यो साता पनि हामीले निरन्तरतादिएका छौ । यस क्रममा आज हामी अनामनगर र पुतलीसडकका केही ब्रोकर हाउसमा पुगेका थियौ । आजको स्तम्भमा हामी तपाइलाई त्यहाँ पुग्दा हामीले देखेको र सुनेको वस्तुस्थिति जस्ताको तस्तै प्रस्तुत गर्ने जमर्काे गर्दैछौ । 

आजको हाम्रो यात्राको सुरुवात अनामनगरमा रहेको कालिका सेक्युरिटिजबाट गरेका थियौ । बजार बढ्ने पूर्वानुमानसहित दोस्रो बजार कारोबारको सुुरुवाती समय ११ बजे नै लगानीकर्ताहरु त्यहाँ उपस्थित भइसकेका थिए । जसै डिस्प्ले बोर्डमा बजारको कारोबारको जानकारी देखिन थाल्यो लगानीकर्तामा उत्साहको सञ्चार हुन थाल्यो । हरियो रंगसँगै सुरु भएको नेप्से कारोबार आज दिनभरि नै हरियो रहिरह्यो । 

कालिका सेक्युुरिटिजमा उपस्थित एक लगानीकर्ता उत्साहित हँुदै अब नेप्से इन्डेक्स उकालो लागेको र यो उकालो लाग्ने क्रम नरोकिने बताउँदै थिए । फेब्रुअरीदेखि बढ्नुुपर्ने नेप्से इन्डेक्स जनवरीको दोस्रो साताबाटै बढ्न थालेको उनको विश्लेषण थियो । उनको धारणासँग सहमति जनाउँदै अर्का लगानीकर्ताले बढ्ने क्रममा रहेको नेप्से इन्डेक्स १५ सयको हाराहारीमा पुग्ने आँकलन गरे । उनीसँगै रहेका अर्का एक पाका लगानीकर्ताले १२ सय पुुगेको नेप्से इन्डेक्स यदि ब्रेक नभए इन्डेक्स बढ्ने क्रम एक हप्तासम्म जारी रहने दाबी गरेका सुनियो । त्यहाँ रहेका केही लगानीकर्तामा अहिलेको अवस्थामा सेयर बेच्ने वा होल्ड गर्ने विषयमा तर्कबितर्क समेत भइरहेको थियो । सो क्रममा एक लगानीकर्ताले आफूसँग कम कित्ता सेयर छ भने अहिले बेच्दा उपयुुक्त हुुने तर्क प्रस्तुुत गरे । 

उत्साहित लगानीकर्ताको भिडमा केही सशंकित लगानीकर्ता पनि भेटिए । उनीहरुकाअनुसार ठूला खेलाडीले चाहे बजारको अवस्था जुुनसुुकै समय परिवर्तन हुुनसक्छ । उनीहरुको आशय बजारमा देखिएको यो बढोत्तरी लामो समय टिक्दैन भन्ने खालको थियो । 

दिनको करिब १२ बजेतिर हामी इम्पेरियल सेक्युुरिटिज पुगेका थियौं । त्यहाँ पुग्दा पनि कालिका जस्तै लगानीकर्ताको भिडभाड र उत्साह दुवै उस्तै थियो । चाखलाग्दो ढंगले बजारको गतिविधि डिस्प्ले बोर्डमा प्रत्यक्ष नियालिरहेका लगानीकर्ताको भिडमा एक जनाले बजारमा लामो समयपछि बुल रन सुरु भएको दाबी गरे । ‘अब इन्स्योरेन्स र वाणिज्य बैंकमा लगानी गर्ने मालामाल हुँदैछन् ।’ उनले आफ्नो दाबी पेश गर्दै भने । 

यत्तिकैमा एक अर्का लगानीकर्ताले विवादित रुपमा रहेको एमसिसि विधेयक पारित भए नेप्से इन्डेक्स अझै उकालो लाग्ने ठोकुवा गरे । सेयर बजारलाई राजनीतिसँग जोड्दै उनले अब अर्काे चुनावमा यदि कांग्रेस अगाडि आए सेयर बजारका लगानीकर्ताले वर्तमानको जस्तो नियति भोग्न नपर्ने दाबी समेत गर्न भ्याए ।

यो क्रममा हामी दिपशिखा धितोपत्र कारोबार लिमीटेडमा पुग्दा एक महिला लगानीकर्ता खुसी हुँदै भन्दै थिइन्–‘अंग्रेजी नयाँ वर्ष लागेसँगै तङ्ग्रिएको सेयर बजारले बल्ल खुसी हुने बहाना दियो । अब बैंकिङ समूहले छलाङ मार्छ, लेखेर राख्नुहोस् ।’ 

दिपशिखामै भेटिएका एक लगानीकर्ता भने सिद्धाथ बैंकको सेयर कम मूल्य हुँदा नकिनेकोमा पछुतो मान्दै थिए । ‘न्यून मूल्य हुँदा किनिएन, अहिले रकेटको गतिमा मूल्य बढेको देख्दा थकथकी लाग्छ।’ उनले थपे । 

उनी मात्रै होइन अरु लगानीकर्ता पनि अन्य सेयर कम मूल्य हुँदा बजारबाट नउठाएको र अहिले ती सेयरको मूल्य बढेको देख्दा पछुुतो मान्दै थिए । पछुतो मात्रै होइन आफूले लिएको निर्णयप्रति गर्व गर्ने लगानीकर्ता समेत थिए त्यहाँ । तीमध्ये एक लगानीकर्ता बडो फूर्ति र गर्वसाथ भन्दै थिए–‘आफूले त सिद्धाथ इन्स्योरेन्सको सेयर कम मूल्य हुँदा किनियो । अहिले ह्वात्तै बढेछ । जेहोस समय छँदै उपयुक्त डिसिजन लिइएछ ।’

पुुतली सडकमा अवस्थित प्राइमो सेक्युुरिटिज र अनलाइन सेक्युरिटिज प्रालि हामी पुुग्दा अन्य ब्रोकर हाउसमा देखिएको जस्तै चाप र उत्साह त्यहाँ पनि पायौं । बजारको साँढे बुर्कुसी मारिरहेको बेला लगानीकर्ताहरुले ती ब्रोकर हाउस पनि खचाखच भरिएका थिए । तर, त्यहाँ रहेका अधिकांश लगानीकर्ता सर्टटर्म बुलमा सेयर बेचेर प्रफिट बुक गर्ने दाउमा देखिन्थे । त्यही भीडमा एक युवा लगानीकर्ताले गफ लगाए–‘सेयरको मूल्य बढ्न त बढ्यो, तर बढेको बेला बेच्ने कि नबेच्ने बडो द्विविधामा परियो ।’

उता अनलाइन सेक्युुरिटिजमा पुग्दा केही महिला लगानीकर्ता सुन्तला र बदाम खाँदै बजार बढेको खुसीयाली आपसमा साट्दै थिए । त्यहाँ रहेका अन्य लगानीकर्ता अब हाइड्रोको दिन पनि फिर्नेमा आश्वस्त देखिन्थे । उनीहरु भन्दै थिए–‘सबै समूूहको बजार बढेपछि हाइड्रोको पनि कसो नबढ्ला ?’ उनीहरु अहिले जलविद्युतको मूल्य कम भएको बेला सेयर किन्ने योजना समेत सुुनाउँदै थिए ।