काठमाण्डौ । महान चाँड दशैंको पूर्वसन्ध्यामा सरकारले महङ्गी अझै बढ्न सहयोग पुग्ने गरी इन्धनको मूल्य वृद्धि गरेको छ । 

अनियन्त्रित कालोबजारीका कारण उपभोग्य वस्तुको मूल्य अचाक्ली बढिरहेको बेला बजार भाउ अझ चर्को पार्न सहयोग पुग्ने गरी सरकारले इन्धनको मूल्य बढाएको हो । 

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो । 

निगमले एक विज्ञप्ति जारी गर्दै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको बताएको छ । हवाई इन्धनको समेत मूल्य बढेपछि हवाई मार्गबाट दशैं तथा अन्य महान पर्वका लागि देशका विभिन्न क्षेत्रका गन्तव्यमा पुग्ने यात्रुहरुको बजेट थपिने निश्चित देखिएको छ । 

विज्ञप्तिअनुसार मूल्यवृद्धि सँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । 

यसैगरी, पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो बर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । 

निगमका अनुसार आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ । 

इन्धनको बढेको मूल्य शनिवार मध्यरातिदेखि नै लागू हुने निगमले प्रष्ट पारेको छ । 

पछिल्लो समय अन्तराष्टिय बजारमा समेत कच्चा तेल तथा इन्धनको मूल्यमा लगातार वृद्धि भइरहेको छ । यसको प्रभावले समेत नेपाल आयल निगम लगातार मूल्यवृद्धिको बाटोमा देखिएको छ । नेपालमा भारतबाट आयात हुने इन्धनको मूल्यमा विभिन्न खालका करसमेत जोडिने भएका कारण उपभोक्ताले महंगो मूल्य तिर्नुपर्छ । लामो समयदेखि उपभोक्ताले त्यस्ता कर हटाएर भए पनि जनतालाई राहात दिनुपर्ने माग गरिरहेका भए पनि सरकारले भने सम्बोधन गर्न उचित ठानेको छैन । 

सरकारको यस्तै बेवास्ताको आडभरोसमा आयल निगमले समेत बेफिक्री इन्धनको मूल्य बढाइरहेको छ । 

निगमले शनिवार राति जारी गरेको विज्ञप्ति यस्तो छः