काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको प्रकोप पुनः बढ्न थालेपछि बेलायतमा दोस्रो लकडाउन गरिने भएको छ। 

डाउनिङ स्ट्रिट न्युज कन्फ्रेन्सलाई सम्बोधन गर्दै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यो महामारीबाट जोगिनका लागि दोस्रोपटक चारहप्ते लकडाउन गर्न लागिएको जानकारी गराएका हुन्। उनका अनुसार लकडाउन आउँदो बिहीबारबाट लागू हुनेछ। 

जोन्सनका अनुसार लकडाउन लागू भएपछि पब, रेस्टुराँ, जिमखाना र अनावश्यक पसलहरु बन्द गरिनुपर्नेछ। स्कुल, कलेज र युनिभर्सिटीहरु भने खुलै रहने उनले जानकारी दिए।

प्रधानमन्त्री जोन्सनले डिसेम्बर २ बाट भने लकडाउनमा लगाइएका प्रतिबन्धहरु खुकुलो पार्दै लगिने बताए। ‘कोरोना महामारीबीच यसपालिको क्रिसमस निकै फरक रहनेछ’, उनले भने। 

जोन्सनले लकडाउनले व्यापारमा पार्ने प्रभावप्रति क्षमायाचना मागेका छन्। 

बेलायतमा जारी गरिने लकडाउनका क्रममा मानिसहरुलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरिएको छ। घरबाट नहुने काम, पढाइ, औषधोपचार, खाद्यान्न र अत्यावश्यक सामग्री खरिदका लागि भने हिँडडुल गर्न दिइनेछ। 

त्यस्तै खुला र बन्द सभा–सम्मेलनमा प्रतिबन्ध लगाइएको छ। दुईजनासम्मको भेटघाटलाई भने प्रतिबन्ध लगाइने छैन। 

पब, बार, रेस्टुराँ र अनावश्यक पसलहरु बन्द हुनेछन्। टेक अवेज् र अनलाइन सपिङहरु भने खुलै रहनेछन्। – एजेन्सी