काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट ब्रिटेन (बेलायत) मा बिहीबार एकैदिन ११५ जनाको ज्यान गएको छ। योसँगै बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ। 

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले हाल कोरोना संक्रमणका बिरामी बढ्न थालेपछि यसलाई सुनामीसँग तुलना गर्न थालेको छ। एनएचएसका प्रोभाइडर क्रिस हाप्सनका अनुसार राजधानी लन्डनका अस्पतालहरुमा यो समय ठूलो संख्यामा कोरोना संक्रमित बिरामी भरिभराउ छन्। ‘यस्तो लाग्छ अहिले अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको सुनामी नै आएको छ’, उनी भन्छन्।

बिरामी संख्या बढ्न थालेपछि बेलायतमा भेन्टिलेटर्सको व्यवस्था पहिले नै गर्न थालिएको छ जब कि यहाँका अस्पतालहरुमा पहिले नै ८ हजार भेन्टिलेटर मौज्दात रहेका छन्। तर अहिले बेलायतमा १० हजारको हाराहारीमा कोरोना संक्रमित बिरामी पुगेको छ। 

बेलायतका जुनियर स्वास्थ्यमन्त्री एडर्वड आर्गरले थप ८ हजार भेन्टिलेटर यो साताभरि आइपुग्ने दाबी गरे। 

त्यसो त बेलायती राजकुमार चाल्र्स पनि कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन्। लगत्तै उनकी पत्नी क्यामिलालाई क्वारेन्टाइनमा राख्नुका साथै शाही दरबार पूरै सेनिटाइजेसन गरिएको थियो।

चीनबाट सुरु भएको यो भाइरस अहिलेसम्म विश्वका १९६ मुलुकमा देखिसकेको छ। विश्वभर अहिलेसम्म कोरोनाबाट ५ लाख ३१ हजार ८६४ संक्रमित भएका छन्। तीमध्ये २४ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने १ लाख २४ हजारको हाराहारीमा बिरामी निको भएर घर फर्किएका छन्। – एजेन्सी