काठमाण्डौ । विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वर्ल्ड टुरिजम मार्केट–२०२२’ बेलायतमा सम्पन्न भएको छ। 

कोभिड–१९को महामारीपछि आयोजना गरिएको यो डब्ल्यूटीएममा नेपालको सहभागिताले पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने विश्वास गरिएको छ। डब्ल्यूटीएममा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका नेपालका विभिन्न २४ वटा पर्यटन कम्पनीको सहभागिता थियो। 

डब्ल्यूटीएममा रहेको नेपालको स्टलको कात्तिक २१ गते बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले उद्घाटन गरेका थिए। राजदूत आचार्यले नेपाल स्टलमा रहेको प्रत्येक सहभागी कम्पनीको निरक्षिण भ्रमण गर्नुका साथै सहभागी सबै कम्पनीहरुलाई नेपालको प्रवर्द्धनमा आफ्नो प्रयास गर्न प्रोत्साहित गरे। 

यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले मेला उत्साहपूर्वक सम्पन्न भएको र यसले कोभिडपछिको नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने बताए। ‘नेपाल कोभिडपछि पनि विभिन्न खालका कार्यक्रमहरुमा सहभागी भएको छ। यद्यपि यो मार्ट अरुभन्दा फरक भएको अवस्थामा नेपालको सहभागीताले नेपाली व्यवसायीहरुले निजी क्षेत्रका  पुराना व्यावसायिक सम्पर्कहरु नवीकरण गर्ने र नयाँ व्यापार साझेदारी स्थापना गर्ने अवसर पाएका छन्। यसले नेपालको पर्यटनलाई पुनःलयमा फर्काउन सहयोग पुग्ने विश्वास छ’, उनले भने। 

डब्ल्यूटीएममा विश्वभरका सबै प्रकारका पर्यटन आपूर्तिकर्ता र राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटन संगठन, पर्यटन मन्त्रालय, प्राधिकरण, ट्राभल एजेन्ट, टुर अपरेटर, होटेल व्यवसायी, ट्राभल टेक कम्पनी, यातायात अपरेटर, एयरलाइन्स, साहसिक खेलकुद कम्पनी, सञ्चारमाध्यम, ट्राभल इन्फ्लुएन्सर, ब्लगर, पर्यटन बजार परामर्शदाता, पर्यटन विज्ञ, शिक्षाविद्, व्यवसायीहरुले आ–आफ्ना पर्यटन उत्पादनहरु प्रदर्शन गरी शोमा उत्साहपूर्वक भाग लिएका थिए। 

यस्तै डब्ल्यूटीएमका अवसरमा आयोजित नेपाल स्टलमा बेलायत र अन्य विभिन्न देशका पर्यटन व्यवसायी, मार्केटिङ परामर्शदाता, मिडिया, टुर अपरेटर, निजी कम्पनी, ट्राभल लेखक, प्रभावकार, मिडिया, फोटोग्राफर, ब्लगर र सामग्री निर्माताको सहभागिता थियो। 
कार्यक्रमकै अवसरमा लण्डनस्थित नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा कात्तिक २२ मा लन्डनस्थित नेपाली दूतावासमा नेपाल साँझ विशेष कार्यक्रमको आयोजना गरिएको थियो। 

कार्यक्रममा प्रख्यात बेलायती पर्वतारोही तथा साहसिक कार्यकर्ता सर क्रिस बोनिङ्टन र एलन हिंक्सले नेपालमा आफनो आरोहण तथा अनुभव स्मरण गर्दै सम्पूर्ण बेलायती जनतालाई जीवनभरको अनुभवका लागि नेपाल भ्रमण गर्न आह्वान गरेका थिए। कार्यक्रममा १०० भन्दा बढी बेलायती ट्राभल टुर अपरेटर, बेलायती पर्वतारोही, सञ्चारमाध्यम र अन्य विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रमा सहभागी नेपाल पर्यटन बोर्डका प्रबन्धक गोविन्द ओलीले जानकारी दिए।