काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि बेलायतमा लकडाउनको अवधि तीन साता थप गरिएको छ।

बेलायतका विदेशमन्त्री डोमिनिक राबले बिहीबार लकडाउन तीन साता थप गरिएको घोषणा गरेका हुन्। ‘यदि लकडाउनमा छुट दिइयो भने यसले सार्वजनिक स्वास्थ्यका लागि मात्र खतरा नभएर अर्थव्यवस्थामा समेत संकट निम्त्याउँछ’, सञ्चारकर्मीसँग कुरा गर्दै डोमिनिकले भने।

प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसबाट संक्रमित भएपछि डोमिनिकले नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन्। यद्यपि अहिले प्रधानमन्त्री जोन्सन उपचारपछि ठिक भएर अस्पतालबाट डिस्चार्ज भइसकेका तर काममा फर्किन अझै केही दिन लाग्ने बताइएको छ। 

डोमिनिकले अहिलेसम्म अपेक्षाअनुरुप संक्रमण दर कम गर्न नसकिएको भन्दै आत्मालोचनासमेत गरे। बेलायतमा हालेसम्म कारोना संक्रमणबाट १३ हजार ७२९ जनाको ज्यान गइसकेको छ। 

बेलायत गत मार्चा २३ तारिखदेखि लकडाउनमा छ। बेलायत सरकारले लकडाउनमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन जनतालाई अपिल गरेको छ। त्यस्तै अत्यावश्यकबाहेकका व्यापारव्यवसाय तथा कार्यालयहरु पनि बन्द गर्न लगाइएको छ। 

बेलायतमा एउटा स्थानमा दुईजना उभिन पनि प्रतिबन्ध लगाइएको छ।
लकडाउनको प्रभावकारिताबारे अब तीन सातापछि मात्र हुने जानकारहरु बताउँछन्। डोमिनिक भन्छन्, ‘हामी यो महामारीका कारण निकै नाजुक र खतरनाक अवस्थामा छौँ। यदि हामीले लकडाउनमा छुछ दिन हतारो गर्यौँ भने यसले ठूलो जोखिममा निम्त्याउन सक्छ।’

डोमिनिकले यी ५ महत्वपूर्ण लक्ष्य सुनिश्चित नभएसम्म लकडाउन खुल्न सम्भावना नरहेको पनि स्पष्ट पारेका छन्। 

१. राष्ट्रिय स्वास्थ्य सेवा पूरै देशका लागि आवश्यक स्वास्थ्य सेवा दिन समक्ष हुने सुनिश्चितता। 

२. कोरोनाबाट दैनिकजसो भइरहेको ज्यान जाने क्रममा गिरावट।

३. कोरोना संक्रमणको दर लक्ष्यअनुसार तल्लोस्तरसम्म नपुगेसम्म।

४. जबसम्म भविष्यमा हुुन सक्ने आवश्यकतालाई ध्यानमा राखेर टेस्टिङ किट र पीपीई इक्विपमेन्टको सप्लाई पूर्ण रुपमा सुनिश्चित नभएसम्म।

५. तबसम्म जब यो भरोसा होस् कि भाइरस फेरि देशका लागि खतरा हुने छैन।  – एजेन्सी