काठमाण्डौ । बेस्ट फाइनान्स लिमीटेडले आगामी पुस ४ गतेदेखि २ लाख ९० हजार २ सय ३६ कित्ता सेयर लिलामीबाट बिक्री गर्ने भएको छ । 

यो फाइनान्स कम्पनीले सर्वसाधारण समूहतर्फको १ लाख ८३ हजार १ सय ९६ कित्ता र संस्थापक समूहतर्फको १ लाख ७ हजार ४० कित्ता सेयर लिलाम बढाबढबाट बिक्री गर्न लागेको हो । 

कम्पनीले गत भदो २७ देखि कात्तिक १४ गतेसम्म १ बराबर १.२५ प्रतिशतका दरले हकप्रद सेयरको बिक्री खुल्ला गरेको थियो । सो क्रममा सेयरधनीले खरीद नगरेको सेयर लिलामी प्रक्रियाबाट सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्न लागिएको हो । 

मंगलबार प्रकाशित एक सूचना अनुसार इच्छुक लगानीकर्ताले पुस १२ गतेसम्म तोकिएका ठाउँबाट बोलपत्र पेश गर्न सक्नेछन् । 

इच्छुक सेयरधनीले न्यूनतम १०० रुपैयाँ र न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछ । संस्थापक समूहतर्फको सेयरमा हाल बेस्ट फाइनान्सका संस्थापक सेयरधनीले मात्र लगानी गर्न पाउनेछन् । 

फाइनान्सको सेयर लिलामी प्रक्रियामा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमीटेडले गर्नेछ । 

इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल लिमीटेडको जमलस्थित मुख्य कार्यालय र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ । 

हाल यो फाइनान्स कम्पनीको चुक्तापुँजी १३ करोड २२ लाख रुपैयाँ रहेको छ । हकप्रदको सम्पूर्ण पूँजीकरणपछि चुक्तापुँजी २९ करोड ७५ लाखको उचाईमा पुग्नेछ । 

यो फाइनान्स कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ सय ३३ रुपैयाँ रहेको छ ।