– अर्जुन तिमिल्सिना

काठमाण्डौ । कोभिड महामारीको सुरुआतसँगै बन्द भएका ब्रोकर हाउसहरुका  डिस्प्ले रुम लामो समयपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले खोल्न दिने निर्णय गरेको छ। 

सेबोनले खोल्न दिने स्वीकृति दिए पनि ब्रोकर हाउसहरुले कहिलेबाट डिस्प्ले रुम खोल्ने भन्ने टुंगो लागेको छैन। 

यसैबीच सेबोनले खोल्न दिने निर्णय गरेसँगै राजधानीका केही ब्रोकर हाउस पुग्दा उनीहरुको डिस्प्ले रुम बेहाल अवस्थामा रहेका भेटिएका छन्। केही ब्रोकर हाउसले आफ्नो कम्पनीमा ५ स्टार होटेलको जस्तो सुविधा भएको दाबी गरिरहँदा कतिपय ब्रोकर हाउसको सेवासुविधा भने खासै सन्तुष्ट लायक नरहेको पाइएको छ। 

काठमाण्डौमा सञ्चालित कतिपय ब्रोकर हाउसहरुले बन्द रहेका डिस्प्ले रुमलाई स्टोर रुममा परिणत गरेका छन्। कतिपयले भने काम नलाग्ने सामानहरुले फाल्ने डम्पिङ रुमका रुपमा डिस्प्ले रुमको प्रयोग गरिरहेका छन्। 

एक ब्रोकर हाउसले पनि कोभिडको सुरुआतसँगै बन्द गरिएको डिस्प्ले रुमलाई स्टोरका रुपमा प्रयोग गरिरहेको छ। ‘अब खोल्नुपर्ला।सेबोनले निर्देशन दिएको छ क्यारे !’, उक्त ब्रोकर हाउसका सञ्चालकले भने। 

त्यस्तै अर्को एक ब्रोकर हाउसले आफ्नो डिस्प्ले रुम नकाम नलाग्ने वस्तु तथा सामान फाल्ने डम्पिङ रुमका रुपमा प्रयोग गरिरहेको छ। त्यहाँ लगानीकर्तालाई बस्ने राम्रो सुविधा पनि छैन। ‘लामो समयसम्म बन्द राख्नुभन्दा केही न केही प्रयोजनका लागि प्रयोग गर्न डिस्प्ले रुमलाई हाल अफिसकै सामान राख्न प्रयोग गरिएको हो’, उक्त ब्रोकर हाउसका सञ्चालकले भने, ‘अब केही दिनभित्रै व्यवस्थित गरेर डिस्प्ले रुम खोल्ने तयारी गरिरहेका छौँ।’

राजधानीका केही ब्रोकर हाउस भने अबको १–२ दिनभित्रै डिस्प्ले रुम खोलेर सेवाग्राहीलाई सुविधा दिने तयारीमा जुटेका छन्।