काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका छाता संस्थाहरुले बैंक र बैंक सम्बद्ध कर्मचारीमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।

बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले मंगलबार झापाको बिर्तामोडमा एक बैंकका कर्मचारीमाथि भएको धरपकडको निन्दा गरेका हुन् ।

 झापाको एक बैंकमा कार्यरत कर्मचारीलाई ऋण नदिएको भन्दै केही व्यक्तिले उठाएर प्रहरी चौकी पुर्‍याएका थिए । सोही घटनाप्रति लक्षित गर्दै ती संस्थाहरुले पछिल्लो समय केही व्यक्ति(समूहहरुले बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरु लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको, अराजक व्यवहार देखाएको र आक्रमण गरिएको प्रति विरोध जनाएका हुन् ।

संयुक्त विज्ञप्तिमा झापा बिर्तामोडस्थित एक वाणिज्य बैंकको शाखामा कार्यरत एक कर्मचारीमाथि भएको धरपकडप्रति हाम्रो घोर आपत्ति रहेको र घटनामा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दछौं भनिएको छ ।

आफ्ना ग्राहकहरुलाई सेवा–सुविधा प्रदान गर्न भूकम्प, कोभिडलगायत विषम परिस्थितिमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरुमाथि यस प्रकारको दुर्व्यवहार हुनु निन्दनीय भएको उनीहरुको भनाइ छ ।

वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीले भयरहित काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति गराउन र दोषीलाई कारवाहीको दायरामा ल्याउन  पनि उनीहरुले माग गरेका छन् ।