काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन तयार रहेको जनाएको छ ।
'हामी पूर्ण तयारीमा छौं । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन हामीबाट कुनै अवरोध छैन ।' नेप्सेका सीइओ चन्द्रसिंह साउद भन्छन्-'अर्थसमितिले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन भनेको छ, हाम्रो पाटोबाट गर्नुपर्ने गृहकार्य केही छैन । धितोपत्र बोर्डले निर्देशन दिए लगत्तै हामी स्थगित प्रक्रियालाई सुचारु गर्छौंँ । नेप्सेमा हालसम्म ११ वटा बैंकका सहायक कम्पनीबाट ब्रोकर लाइसेन्सका लागि आवेदन आएको छ , हामी उहाँहरुलाई भटाभट ब्रोकर लाइसेन्स दिन व्यग्र छौं ।'
नेपाल धितोपत्र बोर्ड भने ५० वटा ब्रोकरहरुकै सेवालाई नै एजेन्सी मोडलमा देशभर बिस्तार गर्ने योजनामा रहेको र बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स नदिने पक्षमा रहेको देखिन्छ । धितोपत्र बोर्डका अध्यक्षले चाहेमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स सिफारिस प्रक्रिया तुरुन्त सुचारु गर्न नेप्सेलाई निर्देशन दिनसक्ने बोर्डकै एक अधिकारी दाबी गर्छन् ।
विगत धेरै वर्षदेखि बैंकलाई ब्रोकर लाइसेन्स प्रक्रिया नियामक नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच अन्तरनिकाय समन्वयको अभावमा ओझेलमा परेको थियो । गत वर्ष ती सबै निकायको सहजीकरणपछि नेप्सेले गत वर्ष साउनमा कार्यविधि नै बनाई बैंकलाई ब्रोकर लाइसेन्स सिफारिस गर्न प्रक्रिया सुचारु गर्दा गर्र्दै ५० ब्रोकरको सिण्डीकेट र व्यवसाय गुम्ने खतरा भएपछि ब्रोकरहरुले नै राजनीतिक लबिङलाई तीव्रता दिए । बैंकलाई ब्रोकर लाइसेन्स दिइएको खण्डमा ब्रोकरेज सेवामा ५० वटा ब्रोकर कम्पनीहरुले लादेको एकाधिकार तोडिने र लगानीकर्ताहरुले प्रतिस्पर्धात्मक सेवा पाउने एजेण्डामा स्टक ब्रोकरहरुले नै अर्थसमितिमा हारगुहार गरेर प्रक्रिया बिथोलेको यसअघि नै खुलासा भइसकेको छ ।
नेप्सेले गत साउन १६ गतेबाट लागू हुने गरी वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिस कार्यविधि, २०७६ लागू गरेको छ ।
गत वर्ष साउनमा नै बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्न नेप्सेले आवेदन माग गरेपछि ११ बैंक तथा वित्तीय संस्थाले धितोपत्र सदस्य दलाल व्यवसायीको अनुमतिका लागि नेप्सेसमक्ष आवेदन दिइसकेका थिए । नेपाल राष्ट्र बैंकबाट समेत २० वटा वाणिज्य बैंकहरुले ब्रोकर लाइसेन्सको अनुमतिका लागि अनुमति पाइसकेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19