 
                     
                                
                             
                                    काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का पदाधिकारी र बैंक तथा वित्तीय क्षेत्र परिसंघ (सीबीफीन) का पदाधिकारी बीच सोमबार भेटवार्ता भएको छ ।
आईएमएफको मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोलीले सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यान नेतृत्वको टोलीसँग भेट गरेको सीबीफीनले जनाएको छ ।
उक्त अवसरमा सीबीफीनले बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई आग्रह गरेको थियो । नेपालको अर्थतन्त्र सुधारको विषयमा पनि छलफल भएको छ ।
चालु मौद्रिक नीति, चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन र आर्थिक एवम् बैंकिङ क्षेत्रका जल्दाबल्दा विषयहरुमा पनि छलफल भएको सीबीफीनले जनाएको छ ।
सीबीफीनका अध्यक्ष गोल्यानले समग्र आर्थिक एवम् बैंकिङ क्षेत्रको सुधार तथा विकासका मुद्दाहरुमा आईएमफसँग निरन्तर छलफल तथा सम्वाद भइरहेको बताउँदै नेपालको वर्तमान आर्थिक एवम् बैंकिङ क्षेत्रको अवस्था, सुधारका लागि अवलम्बन गरिनुपर्ने नीतिगत तथा व्यवहारिक पक्ष र विकास साझेदार संस्थाहरुको भूमिकाका विषयमा आफ्नो धारणा राखेका थिए ।
मिसन टोलीका प्रमुख टिडियान किन्दासहितका पदाधिकारीरुले विश्व अर्थतन्त्रमै शिथिलता छाइरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रमा समेत संकुचन देखिनु स्वभाविक भएको बताए । नेपाल सरकारले तत्काल सुधारका कदमहरु चाल्न आवश्यक रहेको उनको भनाइ छ ।
नेपाल जस्तो सुन्दर, प्राकृतिक सम्पदा र युवा जनशक्तिले भरिपूर्ण देशले आर्थिक उन्नतिको लय समात्न नसक्नुका कारण, नेपालले आर्थिक सुधारका लागि तत्काल पहलकदमी लिनुपर्ने मुख्य विषय र साझेदार संस्थाहरुको सम्भावित भूमिकाका विषयमा जिज्ञासा व्यक्त गरेका थिए ।
मिसन टोलीको विभिन्न जिज्ञासामा बीफीनका अध्यक्ष गोल्यानले सरकार तथा मातहतका नियामक निकायहरुले मैत्रीपूर्ण नीति र वातावरण बनाइ समग्र निजी क्षेत्रमा उत्साह जगाउनुपर्ने, पूँजीगत खर्च प्रणालीमा व्यापक सुधार गरी पूर्वाधारको विकासमा विशेष जोड दिइनुपर्ने, उत्पादनमूलक, रोजगामूलक र निर्यातमूलक क्षेत्रलाई प्रोत्साहनसहित प्राथमिकता दिइनुपर्नेमा जोड दिएका थिए ।
उक्त अवसरमा सीबीफीनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय र कार्यकारी सदस्य उपेन्द्र प्रसाद पौडेललगायतले नेपालको बैंकिङ क्षेत्रले अनपेक्षित चुनौतीहरुको सामना गरिरहेको भएतापनि विश्वासिलो वातावरण, नीतिगत स्थिरता र समय–सान्दर्भिक नीतिको अवलम्बन हुन सकेमा अर्थतन्त्रलाई चलायमान बनाउने सामर्थ्य बैंकिङ क्षेत्रमा रहेको बताएका थिए ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19