काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बैंकलाई ब्रोकर लाइसेन्स र प्रादेशिक स्तरमा ब्रोकर लाइसेन्स दिने विषयमा असहमति जनाएका छन् । 

एक टेलिभिजन शोमा सहभागी भएका अध्यक्ष ढुंगानाले बैंकलाई ब्रोकर लाइसेन्स दिने पोलिसी नै बनेको छैन भन्दै यो तत्काल संभव नरहेको बताएका हुन् । 

‘बैंकलाई लाइसेन्स दिने भनेर पोलिसी बनेको छैन र यो निर्देशन आउँदैन पनि । यो छलफलको विषय मात्र हो । तै पनि यसको संभाव्यताको विषयमा अध्ययन गर्न संसदीय कमिटी बनेको छ । त्यसको प्रतिवेदन आएपछि मात्र थप कुरा भन्न सकिन्छ ।' उनले भने-'नेपालका लागि बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा नयाँ पोलिसी हो । बैंकहरुले सहायक कम्पनी खोलेर सेयर कारोबार गर्न सक्छन् भने गरुन् भनिए पनि इजाजत लिने इजाजत लिने सम्बन्धमा पोलिसी क्लियर भएको छैन ।’ 

उनले ब्रोकरहरुले माग गरिरहेका र नेप्सेले समेत निकै धेरै तयारी गरिसकेको प्रादेशिक स्तरमा ब्रोकर लाइसेन्स दिने विषयमा समेत आपत्ति जनाएका छन् । 

‘प्रादेशिक स्तरमा ब्रोकर लाइसेन्स दिने भन्ने कुरा सिद्धान्ततः हुँदैन ।’ उनले भने-'यो अवधारणा कहाँबाट आइरहेको छ ? कसले ल्याइरहेको छ यस्तो कुरा ?'

उनले काठमाण्डौका ब्रोकरले जे काम गर्छन्, प्रादेशिक स्तरका ब्रोकरले पनि त्यही काम गर्ने भएकोले यो मुद्धाको खासै तुक नरहेको दाबी गरे ।