-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले २५ दिनभित्र बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने प्रतिबद्धता जनाएको छ ।
सेयर लगानीकर्ता संघसंगठनका विभिन्न प्रतिनिधिसँग मंगलबार भेटको क्रममा नेप्सेका सीइओ साउदले भोलि(बुधबार) बस्न गइरहेको बोर्ड बैठकले यस्तो निर्णय लिनेछ । बोर्ड बैठकपछि २५ दिनभित्र बैंकका सहायक कम्पनीहरुलाई फटाफट ब्रोकर लाइसेन्स दिने गरी सबै आवश्यक काम अगाडि बढाइने समेत उनले वचन दिए ।
धितोपत्र बोर्डलाई नेप्सेले दिएको बैंकलाई ब्रोकर लाइसेन्ससम्बन्धी कार्यविधि फिर्ता भएपछि नेप्सेले हालै पुनः एक कमिटी गठन गरेर बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स वितरणको आवश्यक प्रक्रिया मिलाउन निर्देशन दिइसकिएको साउदले दाबी गरे।
नेप्सेको सम्बन्धित विभागलाई आवश्यक सूचना निकाल्न जिम्मेवारी दिएको उल्लेख गर्दै सीइओ साउदले भने–‘शंका नगर्नुस् र बाहिर धेरै हल्ला पनि नगरौं, बैंकका सहायक कम्पनीलाई स्टक ब्रोकर लाइसेन्स म दिन्छु दिन्छु ।’
सम्बन्धित विभागले बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्सको आवेदन खुलाउन आवश्यक सूचना प्रकाशित सम्बन्धी व्यवस्था भोलि(बुधबार) नेप्सेमा बस्ने बैठकद्वारा पास गरेपछि लाइसेन्स वितरण गर्ने भन्दै लगानीकर्ताका नेताहरुलाई आश्वसन दिएर उनले फर्काएका थिए ।
तर, उनै साउदले पुनः बैंकलाई ब्रोकर लाइसेन्स दिन अध्ययन प्रतिवेदन पेश गर्न नयाँ कमिटीलाई जिम्मेवारी दिइसकेको भन्दै कुराकानीको क्रममा लगानीकर्तालाई अन्यौलमा पारिदिने काम पनि गरेका छन् ।
बृहत पूँजी भएका र प्रविधिमा सक्षम बैंकलाई ब्रोकर लाइसेन्स दिएमा प्रतिस्पर्धी सेवा भई लगानीकर्ताहरुले गुणस्तरीय सेवा पाउनेमा आफू ढुक्क भएको धारणा लगानीकर्ताका नेताहरु समक्ष राखे । सोही भेटका क्रममा साउदले प्रादेशिक ब्रोकरको प्रतिवेदन तयार भइसकेको बताउँदै एकचोटि धितोपत्र बोर्डसँग छलफल गर्ने योजना रहेको र यसमा नेप्सेले कुनै ढिलाई नगर्ने जिकिर समेत गरे ।
मंगलबार नेप्से गएको प्रतिनिधिमण्डलमध्ये लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले अनलाइन कारोबारी जस्तै बैंकलाई ब्रोकर लाइसेन्स दिएको खण्डमा देशभर बचत गर्ने बानी बस्ने दाबी गर्दै ‘यो विषयलाई यता र उता हल्लाए नराम्रो हुने’ चेतावनी समेत दिए । बैंकलाई ब्रोकर लाइसेन्स रोक्ने प्रयास भएको उल्लेख गर्दै अध्यक्ष ढकालले भने–‘मैले गन्ध पाएको छु । सेबोनका अध्यक्ष डा.रेवतबहादुर कार्कीको कार्यकालसम्म रोक्ने कुचेष्टा हुँदैछ, यदि यसो भएमा यसको जिम्मेवार साउद सर नै हुनुहुनेछ ।’
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बैंकलाई ब्रोकर लाइसेन्स अब पनि रोक्ने काम गरे बबण्डर मच्चाइने र आन्दोलन चर्काउने चेतावनी दिए । नेप्सेले यस कामलाई पुनः पाइपलाइनमा अड्काउने प्रयत्न गरे आन्दोलनको बाढी ल्याउने भन्दै रौनियार गर्जिए।
सेबोनको निर्देशन १२ दिनसम्म गोप्य राखेर नेप्सेले चलखेल गरिरहेको र सच्चिन सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले चेतावनी दिए ।
उता, नेपाल धितोपत्र बोर्डले गत साउन २ गते नै बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स वितरण गर्न निर्देशन दिएकोमा बोर्डले समेत सो निर्देशनको कपी भर्खरै साउन १२ गते मात्र सार्वजनिक गरेको थियो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago