काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज एकीकृत निर्देशन संसोधन गरी केही नयाँ सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई सेयरमा अल्पकालीन लगानी गर्न रोक लगाएको छ। यो व्यवस्थाका कारण बजारमा पर्ने प्रभावको विषयमा सर्वत्र आँकलन भइरहेको छ ।  

राष्ट्र बैंकको यो कदमलाई पुँजी बजारमा स्थायित्व चाहेर ल्याइएको भन्नेहरु पनि छन् भने कसै–कसैले बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाहमात्रै गर्ने हो भनेका छन्। 

कतिपयले यसरी बैंक तथा वित्तीय संस्थाहरुले सीधै लगानी गर्दा सर्वसाधरणको बचत जोखिममा पर्छ पनि भनिरहेका छन् । 

अहिले बजार लगातार बढेर २८०० को विन्दु माथि रहेको छ। बजारमा साना–ठूला लगानीकर्ताको ठूलै उपस्थिति छ।

बजार विज्ञ हेमन्त बस्याल राष्ट्र बैंकको यो कदमले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर खरिदमा मात्रै अंकुश लगाएको नभई बिक्रीमा समेत हो भन्ने बुझ्न जरुरी रहेको बताउँछन्। ‘फलतः ट्रेडिङ प्रफिट बुक गरी बोनस बाँड्ने क्रम रोकिने पक्का छ’, बस्यालले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘कार्यान्वयन पक्ष कस्तो रहनेछ हेर्नुछ। केही कार्यकारीको जागिर चाहिँ धरापमा पर्न सक्छ।’

अर्का बजार विश्लेषक दिलिप मुंनकर्मी कतिपयलाई राष्ट्र बैंकको यो कदम नराम्रो लागे पनि यसले स्पष्ट रुपमा बैंक तथा वित्तीय संस्थाहरुलाई व्यापारमा केन्द्रित हुन र धितोपत्रको व्यापारमा आँखा नलगाउन भनेको उल्लेख गर्छन्। उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘यसले केही व्यापारी बैंक तथा वित्तीय संस्थाहरुलाई गाह्रो होला तर पैसाको व्यापारमा फर्किन दबाब र प्रोत्साहन पनि। यसलाई बैंक तथा वित्तीय संस्थाहरुको भूल सुधार र अवसरका रुपमा लिनु ठिक होला।’

नबिल बैंकका डीजीएम मनोज ज्ञवाली सेयर बजारमा अब बैंक तथा वित्तीय संस्थाहरुको थप लगानी नहुने स्थिति आएको बताउँछन्। ‘राष्ट्र बैंकको यो निर्देशनले बैंक तथा वित्तीय संस्थाहरुले अरु बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाउने हुन्छ’, उनले भने, ‘हाइड्रो, इन्स्योरेन्स र अन्यको डेभिडेन्ड इल्ड २ प्रतिशत पनि छैन। बजारमा एक वर्षको मार्केट रिस्क लिएर ट्रेजरी बिलभन्दा तलको डेभिडेन्ड इल्डमा कुनै बैंक तथा वित्तीय संस्थाको ट्रेजरीले पैसा हाल्दैन। संस्थाहरुको स्पेकुलेटिभ अर्निङ बन्द हुने भयो। यसको अर्थ डेभिडेन्ड इल्ड राम्रो नभएका कम्पनीहरुमा लगानी नगर भनेझै भयो।’

बजार जानकार गोविन्दप्रसाद घिमिरे राष्ट्र बैंकको यो कदमलाई दुई पाटोबाट हेर्नुपर्ने बताउँछन्। ‘पहिलो भनेको यसले बैंक तथा वित्तीय संस्थाले यदि दीर्घकालीन लगानी गरे भने राम्रा कम्पनीमा लगानी गर्छन्। यसले राम्रा कम्पनीमा आकर्षण बढ्नसक्छ’, उनले भने, ‘दीर्घकालीन लगानीले सेयर बजारमा अन्ततः स्थायित्व नै आउने हो। अल्पकालीन प्रभावमात्रै पर्ला तर दीर्घकालीन कुनै असर पर्दैन।’

घिमिरेले दोस्रो कुरा यो कदमले अब बैंक तथा वित्तीय संस्थाहरुले अब लगानीकर्तालाई थप ऋण लगानी गर्न सक्ने बताए। ‘उनीहरुले सबै एकैचोटि सप्लाई गर्ने पनि होइन। तरलता अझै बढ्न सक्छ’, उनले भने, ‘ऋण प्रवाह बढ्न सक्छ।’ 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट राष्ट्र बैंकको कदम सकारात्मक रहेको बताउँछन्। ‘खासमा हाम्रो माग पनि यही थियो’, उनले भने, ‘बैंकले कोर क्यापिटलको १५ प्रतिशतसम्म लगानी गर्न पाउने हो। कति बैंकले ३० देखि ४० प्रतिशतसम्म गर्छन्। यसले नियममा बाँधेजस्तो छ।’

यो निर्णयले बैंक तथा वित्तीय संस्थाको तरलता बढ्न सक्ने बिष्ट बताउँछन्। ‘ऋणको ब्याजदर सस्तो हुन सक्छ’, उनले भने, ‘यही बुझेर होला केहीले कारोबार २० अर्ब माथि हुन्छ भनेका हुन सक्छन्। अल्पकालका लागि प्रभाव होला तर दीर्घकालीन रुपमा भने राम्रै हुन्छ।’

राष्ट्र बैंकको यो कदमले केही समयका लागि बजार प्रभावित हुन सक्ने सक्रिय लगानीकर्ता प्रेम ओली बताउँछन्। ‘बैंकहरुले पनि अल्पकालीन लगानी गर्थे। कप्तीमा ३ महिनाका लागि लगानी गरेको पाइन्छ। बैंकले दीर्घकालीन लगानी गर्दैनन्’, उनले भने, ‘यो कदमले बजारमा अहिले आएको उत्साह कम हुनसक्छ। यही कारणले आज करेक्सन आएको पनि हुन सक्छ। यसले बजेट पनि कस्तो आउला भन्ने आशंका पनि भयो।’ 

सरस्वती क्याम्पसका एमबीएम कार्यक्रमका निर्देशक केपी पाण्डेय यो नियमले नीतिगत अस्थिरता ल्याउने बताउँछन्। ‘कसरी आयो यो नियम ?’, प्रश्न गर्दै उनी भन्छन्, ‘सबै बैंकका लघुवित्त छन्। बैंक तथा वित्तीय संस्थालाई अरु विकल्प नभएर किनेका हुन। अहिले गरेको लगानी यदि बैंक अप्ठ्यारोमा परेदेखि एक वर्षसम्म बेच्न नपाउने भएपछि लगानी गर्न हच्कन सक्छन्।’

राष्ट्र बैंकले ‘यति बेला किन अनि यति बेला बेच’ भन्न नहुने पाण्डेको तर्क छ। ‘अहिलेसम्म गरेको लगानी के गर्ने ?’, उनले प्रश्न गरे, ‘राष्ट्र बैंकको यस्तो अस्थिर नीतिले सेयर बजारमा असर गर्न सक्छ, किनकि सेयर बजार निकै तरल हुन्छ। लगानीको सुनिश्चितता र नीतिगत स्थायीत्व भएको देखिएन।’