काठमाण्डौ । एकैदिन करिब ५ सय अंकले बढेको बिमाको सूचकमा मंगलबार यूटर्न भई २४०.१९ अंकको गिरावट देखिए पनि बैंकहरुको कारोबार चम्कँदा नेप्से परिसूचकले पहिलोपटक १८ सय अंक माथिको गौरवशाली यात्रा तय तय गरेको छ । 

बैंकहरुको योगदानले बजार सूचक १३.९ अंकले बढी १८००.४७ अंकमा पुगेको हो । 

सूचकमा नयाँ रेकर्ड कायम भएसँगै नयाँ आर्थिक वर्षमा पहिलोपटक कारोबार रकम २ अर्ब माथि पुगेको छ । 

मंगलबार १३९ कम्पनीका २९ लाख २ हजार १ सय २७ कित्ता सेयर २ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी उत्पादनमूलक समूह ४०.२४ अंकले बढे पनि बजारलाई गुल्जार बनाउन वाणिज्य बैंक र विकास बैंक समूहले महत्वपूर्ण योगदान गरे । वाणिज्य बैंकको सूचक ३५.४८ अंकले उक्लियो भने विकास बैंक समूह १५.७७ अंकले बढ्यो । होटल समूहमा पनि ३५.३३ अंककै वृद्धि देखियो । बित्त समूहको सूचक ८.८१ अंकले उक्लियो । 

बाँकी सबै समूहको सूचकमा रातो पोतियो । जलविद्युत समूह ९.९३ र अन्य समूह १७.०७ अंकले तल झरे । 

मंगलबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः ३.५८ र १.५४ अंकले उक्लिए । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार सबैभन्दा बढी एकै दिन माछापुच्छ«े बैंकको ३० करोड बढीको सेयर किनबेच भयो । नेपाल बैंक लिमीटेडको १० करोड ६३ लाखको कारोबार भयो भने शिखर इन्स्योरेन्सले ७ करोड ८३ लाखको कारोबार गर्यो । नेपाल बंगलादेश बैंकले ७ करोड ४७ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ७ करोड २८ लाखको कारोबार गरे । एनआइसी एशिया बैंकको ७ करोड १६ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकको ६ करोड ५९ लाखको सेयर किनबेच भयो । 

यसैगरी, जलविद्युत लगानी तथा विकास कम्पनी लिमीटेड ६ करोड ४ लाख, ग्लोबल आइएमई बैंकले ५ करोड ८० लाख र नेशनल लाइफ इन्स्योरेन्सले ५ करोड ११ लाखको कारोबार गरे । 

धेरै कमाउने कम्पनी
मंगलबार धेरै कमाउने टप १० कम्पनीको सूचिमा विकास बैंक र वाणिज्य बैंककै बोलवाला रह्यो । सिद्धार्थ बैंक लिमीटेडको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने त्यसपछि क्रमशः  किसान माइक्रो फाइनान्स बित्तीय संस्था, कैलाश विकास बैंक लिमीटेड, गण्डकी विकास बैंक लिमीटेड, पोखरा फाइनान्स लिमीटेड, माछापुच्छे बैंक लिमीटेड, बोटलर्स नेपाल(तराई) लिमीटेड, कृषि विकास बैंक, फेवा विकास बैंक लिमीटेड र कसमस डेभलपमेन्ट बैंक लिमीटेडका लगानीकर्ताले कमाए । यी १० कम्पनीले ६ प्रतिशतदेखि १० प्रतिशतको बीचमा आफ्नो सम्पत्ति बढाए । 

धेरै गुमाउने कम्पनी
मंगलबार धेरै गुमाउनेमा लघुवित्त संस्था र बिमा समूह रहे । सबैभन्दा धेरै निर्धन उत्थान बैंक लिमीटेडले गुमायो भने त्यसपछि गुमाउने टप १० को सूचिमा क्रमशः मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमीटेड, जलविद्युत लगानी तथा विकास कम्पनी, आइएलएफसीओ माइक्रो फाइनान्स बित्तीय संस्था, सगरमाथा इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, नेरुडे लघुवित्त विकास बैंक, ओरिएन्टल होटल्स लिमीटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स परे । यी कम्पनीहरुले ४ देखि १० प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाउन पुगे ।