काठमाण्डौ । नेप्से परिसूचकले मंगलबार पाँच महिनाअघिकै उचाई चुमेको छ । गत कात्तिक २८ गतेको विन्दू पार गर्दै मंगलबार नेप्से परिसूचक १७ सय माथि पुुगेको हो । यो दिन बजारमा ३४.०५ अंकको उछाल देखियो । नेप्से परिसूचक बढेर १७१०.२७ अंकमा पुुगेको छ भने कारोबार रकम पनि १ अर्ब ९० करोड बढीको उचाईमा पुुगेको छ । यो दिन सबै समूहमा हरियाली छाएको छ । 

लगानीकर्ताहरुले राम्रा बैंक तथा बित्तीय संस्थाहरुको सेयर छानी छानी खरिदारी बढाएका छन् । बैशाख पहिलो सातादेखि नै सार्वजनिक हुन थाल्ने बैंक तथा बित्तीय संस्थाको तेश्रो त्रैमासिक विवरणले कम्पनीको आगामी बोनसको आँकलन गर्न सकिने र त्यसको केही छनक कम्पनीको बित्तीय अवस्था अध्ययनको क्रममा अहिले नै देखिसकेका लगानीकर्ताहरुले संभावनायुक्त कम्पनीमा लगानी बढाएका छन् । यसले समेत सेयर खरीदमा चाप परेर नेप्से परिसूचक अहिलेसम्मकै सबैभन्दा उच्च १८८१ को उचाई पुनः चुम्ने रफ्तारमा दौडिएको छ । 

यो बीचमा स्थानीय निकायको निर्वाचनको सुनिश्चितता र यसले अर्थतन्त्रलाई चलायमान बनाउन बुुझेका लगानीकर्ताहरुले बजार अझै माथि जाने विश्लेषणसहित लगानी बढाएका छन् । बीचका केही दिनमा पर्ख र हेरको रणनीतिमा बसेका लगानीकर्ताहरु पनि बजारमा प्रवेश गरेपछि सोमबारदेखि नेप्सेमा उछाल देखिएको छ । 

मंगलबार वाणिज्य बैंक र विकास बैंकको चमक बढेको छ । वाणिज्य बैंक समूह ३७.१२(२.३७ प्रतिशत) र विकास बैंक समूह ५६.६८ अंक(३ प्रतिशत)ले बढेको छ । बित्त समूहमा १४.०७ र बिमा समूहमा १२०.१७ अंकको वृद्धि भएको छ । होटल, जलविद्युत, उत्पादनमूलक र अन्य समूह क्रमशः ९.६२, १४.४७, २१.६ र १.४५ अंकले बढेका छन् । 

''क'' वर्गका कम्पनीको कारोबारमा चाप परेका कारण सेन्सेटिभ इण्डेक्स ७.५२ अंकले बढेको छ भने फ्लोट इण्डेक्समा २.९९ अंकको वृद्धि देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार १ सय ४४ कम्पनीको कुल ३१ लाख ४ हजार २६ कित्ता सेयर १ अर्ब ९० करोड ७३ लाख ९६ हजार ५ सय ८९ रुपैयाँमा किनबेच भएको छ ।

सबैभन्दा बढी एनसीसी बैंकले ९ करोड बढीको कारोबार गर्यो । यस्तै, मुक्तिनाथ विकास बैंकले ८ करोड ८० लाख, गुराँस लाइफ इन्स्योरेन्सले ८ करोड ८ लाख, प्रभूू बैंकले ८ करोड, गरिमा विकास बैंकले ७ करोड ७८ लाख, नेपाल इन्स्योरेन्स कर्पोरेसन लिमीटेडले ६ करोड ६७ लाख बढीको कारोबार गरेका छन् । यस्तै, सनराइज बैंकको ५ करोड २२ लाख बढीको सेयर किनबेच भएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५ करोड १२ लाख, फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको ४ करोड ८९ लाख र सूूर्य लाइफ इन्स्योरेन्सको ३ करोड ९० लाख बढीको कारोबार भएको छ । 

धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार १३ कम्पनीका सेयरधनी मालामाल भएका छन् । २ कम्पनीको सेयर मूल्य १० प्रतिशत र ११ कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ । २ सय प्रतिशत हकप्रदको प्रस्ताव पारित गरेको खबरले अपी पावरमा आकर्षण बढेको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मूल्य समेत १० प्रतिशतले नै बढेको छ । 

आइएलएफसीओ माइक्रो फाइनान्स, तिनाउ डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल(तराई) लिमीटेड, सूूर्य लाइफ इन्स्योरेन्स, रिलायवल माइक्रो फाइनान्स, किसान माइक्रो फाइनान्सले १० प्रतिशतको हाराहारीमा सम्पत्ति बढाएका छन् । यही अनुपातमा सेयर मूल्य वृद्धि हुने अन्य कम्पनीहरुमा ग्रीन डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, आइसीएफसी फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्स रहेका छन् । यो बैंकको सेयर मूल्य १.०४९ प्रतिशतले घटेको छ । 

उछाल आएको बजारमा खानीखोला हाइडो पावरको सेयर मूल्य सबैभन्दा बढी ४ प्रतिशतले घटेको छ । सबै वाणिज्य बैंकको सेयर मूल्य बढे पनि यो दिन एनएमबी बैंकको मूल्यमा भने गिरावट आएको छ ।