काठमाण्डौ । बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै सेयर बजारमा बिहीबार पहिरो गएको छ। 

विगत ६ महिनादेखि ब्याजदर स्थिर राख्दै आएका वाणिज्य बैंकहरुबीचको भद्र सहमति भंग भएको छ। अब बैंकहरुलाई राष्ट्र बैंकको नियमभित्र रहेर आफूखुसी ब्याजदर बढाउन वा घटाउन सक्ने छुट नेपाल बैंकर्स एसोसिएसन (एनबीएल)ले दिएको छ। 

योसँगै ब्याजदर बढ्ने आँकलनमा लगानीकर्ताहरु त्रसित हुँदा सेयर बजारमा पहिरो गएको जानकारहरु बताउँछन्। 

यो समाचार तयार पार्दासम्म (१ः४५ बजे) नेप्से परिसूचक ५३.८२ अंकले घटेर १९२७.६६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.३४ अंकले घटेर ३७५.०१ विन्दुमा ओर्लेको छ। 

अहिलेसम्म नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। सबैभन्दा बढी वित्त समूहमा ५.१७ प्रतिशतको गिरावट आएको छ। 

हालसम्म नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ३९ लाख ४१ हजार ४०० कित्ता सेयर १ अर्ब २६ करोड ९९ लाख २ हजार ३६६ मा किनबेच भएका छन्। 

अहिलेसम्म सबैभन्दा बढी रिडी पावरको ६ करोड ८९ रुपैयाँ बढीको कारोबार भएको छ। मैलुङखोला जलविद्युतका सेयरधनीहरुले सबैभन्दा धेरै गुमाएका छन्। यो कम्पनीको सेयरभाउ अहिलेसम्म ८ प्रतिशत बढीले ओरालो लागेको छ।