काठमाण्डौ । धितोपत्र बजार मापक नेप्से परिसूचकमा आज बिहीबार झिनो अंकको गिरावट आएको छ। परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने ३ अर्ब रुपैयाँ नाघेको छ।

धितोपत्र कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक १.७८ अंकको गिरावटका साथ १६४५.६७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.२७ अंकको बढोत्तरीका साथ ३२८.०४ को विन्दुमा उक्लिएको छ। 

वाणिज्य बैंकहरुले कोरोना कहरका बीच ‘सरप्राइज’ लाभांश प्रस्ताव गरिरहँदा धितोपत्र बजारमा बैंकका सेयर खरिदमा हंग्री इन्भेस्टर देखिन्छन्। आज पनि बैंकको सेयर खरिद गर्न लगानीकर्ताहरु खचाखच थिए। 

सबैभन्दा धेरै भोल्युममा बैंकका सेयर खरिदमा अचाक्ली आकर्षण रहेको पाइन्छ। यद्यपि कतिपय बैंकका सेयरमा प्रतिकित्ता रु. ४०–५० हाराहारी नाफा भएपछि बिक्रीकर्ताको पनि उल्लेख्य भीड देखिन्छ। लगानीकर्ताहरुले नाफा सुरक्षिततर्फ ध्यान दिँदासमेत कतिपय बैंकका सेयरमूल्यमा केही करेक्सन आएको विश्लेषकहरुको भनाइ छ।

बैंकहरुले आगामी दिन आकर्षक लाभांश प्रस्ताव गर्ने मनोविज्ञान रहेकाले समेत आज बैंकिङ समूहको दबदबा रहेको विश्लेषक बताउँछन्। बैंकिङ समूहमा हंग्री इन्भेस्टरहरुले आक्रामक खरिद गरिरहेकाले आगामी दिन बैंकिङ समूहमा उछाल आउन सक्ने विश्लेषकहरु दाबी गर्छन्।

अघिल्लो साता दसैँ बिदा हुनुअगावै लगातार बढिरहेको धितोपत्र बजारमा सेयर कारोबारीले थोरै नाफा सुरक्षित गरेका कारणले समेत आज बजारमा झिनो अंकको करेक्सन आएको जानकार बताउँछन्।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ६ वटामा हरियाली छायो भने ६ वटामा रातो पोतिएको छ।

यो दिन निर्जीवन बीमा समूहमा सबैभन्दा बढी ३९.८९ अंकको बढोत्तरी भएको छ। व्यापार समूह १४.९५ अंकले बढेको आज जलविद्युत् समूह ६.७५ अंक, अन्य समूह ५.८३ अंक, लघुवित्त समूह १२.७४ अंक र जीवन बीमा समूह ८.८६ अंकले उकालो लागेका छन्। 

आज उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी ३४.८५ अंकले ओरालो लागेको छ। विकास बैंक समूह १६.८३ अंकले घटेको यो दिन बैंकिङ समूहमा ६.२७ अंक, होटेल्स् समूहमा १५.४२ अंक, वित्त समूहमा २.६२ अंक र म्युचुअल फन्ड समूहमा ०.१ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९२ कम्पनीका १ करोड ३ लाख ६५ हजार ६०७ कित्ता सेयर ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार ८४५ रुपैयाँमा कारोबार भएको छ। 

आज उच्च कारोबार गर्ने १० कम्पनीमध्ये ९ वटा वाणिज्य बैंकहरु छन्। यो दिन प्राइम कमर्सियल बैंकको सर्वाधिक १३ करोड ७८ लाख रुपैयाँको बढीको कारोबार भएको छ।

प्रभु बैंकको १३ करोड ५९ लाख रुपैयाँको कारोबार भएको यो दिन एनएमबी बैंकको १२ करोड ३६ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १२ करोड ९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ११ करोड ८१ लाख रुपैयाँ, नेपाल बैंकको १० करोड २९ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको १० करोड १५ लाख रुपैयाँ, कुमारी बैंकको ८ करोड २१ लाख रुपैयाँ, सिटिजन्स बैंकको ७ करोड १७ लाख रुपैयाँ र सिभिल बैंकको ६ करोड ६५ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज दुई कम्पनीको सेयरधनीहरु मालामाल भएका छन्। यो दिन आजैबाट कारोबार थालेको शिवश्री हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत र नेपाल फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजेटिभ सर्किट लागेको हो। 

यो दिन सिन्धु विकास बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।