काठमाण्डौ । सेयर ब्रोकरको घटेको कमिसन लागू भएको पहिलो दिन सोमबार वाणिज्य बैंकहरुकै दबदबा कायम भएको छ । अघिल्लो साता उतारचढाव हुने गरेको बिमा समूहको सूचक पनि दोहोरो अंकले बढेको छ । 

वाणिज्य बैंक, विकास बैंक र बिमाले उचालेको बजार ३९.२७ अंकले वृद्धि हुँदै १८३८.१० अंकको  ऐतिहासिक उचाईमा पुगेको हो । 

सोमबार सबैभन्दा बढी  बिमा र बिकास बैंक समूहको सूचक क्रमशः ८१.७५ र ८१.७४ अंकले उक्लिए । 

वाणिज्य बैंक समूहमा ४२.५६ र होटल समूहमा ४३.०३ को बढोत्तरी देखियो । बित्त समूह १४.९७ र अन्य समूह ८.९७ अंकले उकालो लागे । सोमबार जलविद्युत र उत्पादनमूलकको सूचकमा भने रातो पोतियो । जलविद्युत समूहमा १५.२५ र उत्पादनमूलकमा ०.१३ अंकको गिरावट देखियो । 

सोमबार सेन्सेटिभ इण्डेक्स ८.३१ बढ्यो भने फ्लोट इण्डेक्स समेत ३.५३ अंकले उक्लियो । 

१ सय ४६ कम्पनीका कुल ४६ लाख ७४ हजार २ सय २९ कित्ता सेयर २ अर्ब २० करोड ५७ लाख रुपैयाँमा किनबेच भयो । 
सोमबार सबैभन्दा बढी सिद्धार्थ बैंक लिमीटेडले १९ करोड ११ लाख बराबरको सेयर कारोबार गर्यो । त्यसपछि प्राइम कमर्सियल बैंकले १० करोड ६० लाख, नेपाल बंगलादेश बैंकले १० करोड, कृषि विकास बैंकले ६ करोड ३९ लाख, माछापुच्छे बैंकले ६ करोड ३० लाखको कारोबार गरे । सोमबार कारोबारको आधारमा उत्कृष्ट १० कम्पनीको सूचिमा ८ स्थान वाणिज्य बैंकले कब्जा गर्यो भने बिमा कम्पनी २ स्थानमा सीमित बन्न पुग्यो ।