काठमाण्डौ । धितोपत्र कारोबार हुने सातको पहिलो दिन सेयर बजारमा पहिरो गएको छ।

बजार आज १००.६७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २७००.८९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १५.६२ अंकले घटेर ५११.६६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बैंकहरुले ब्याजदर बढाउनु, एमसीसी पेचिलो बन्दै जानु र पछिल्लो राजनीतिक परिस्थितिले सेयर बजार प्रभावित भएको जानकारहरु बताउँछन्। 

स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की आज बजार घट्नुमा बैंकहरुले ब्याजदर बढाउनु नै रहेको बताउँछन्। ‘बैंकहरुले ब्याजदर बढाएपछि बजारलाई असर गर्छ भन्ने सबैले बुझेका थिए’, उनले भने, ‘सोही कारण सबैले बजारबाट पहिले निस्किने प्रतिस्पर्धा गर्दा बजार घट्यो।’

केही करेन्सनपछि बजार फेरि लयमा फर्किने कार्कीको विश्वास छ। ‘बजार घट्दा किन्नेहरु अब सक्रिय हुन्छन्’, उनले भने, ‘अनि बजार फेरि सम्हालिनेछ।’

अब ट्रेडर हावी हुने, चुनावी महौल सुरु हुने, सरकारी खर्च बढ्नेजस्ता कारणले बजार केही दिनपछि पुनः लयमा फर्किने कार्कीको भनाइ छ।

सक्रिय लगानीकर्ता प्रकाशन न्यौपाने मुख्यगरी ब्याजदर वृद्धिले बजार घटेको बताउँछन्। ‘प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ताजस्ता राजनीतिक कारणले पनि आज बजार प्रभावित भयो’, उनले भने, ‘यी कारणले लगानीकर्ताको मनोबल गिर्दा बजार प्रत्यक्ष रुपमा नकारात्मक असर पर्यो।’

चुनावको मिति घोषणा भएपछि स्टप लस गर्ने हावी हुँदा पनि बजार उठ्न नसकेको न्यौपाने बताउँछन् । ‘एक त अफ सिजन, त्यसमाथि विभिन्न कारणले लगानीकर्ता निराश भएका छन्’, उनले भने। 

अब बजार बढ्नका लागि गुड न्यु नै आउनुपर्ने न्यौपानेको भनाइ छ। ‘यद्यपि बजार अवश्य लयमा फर्किन्छ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक ५.४७ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ५.०३ प्रतिशतले घटेको आज बैंकिङ समूहमा २.३९ प्रतिशत, व्यापार समूहमा २.२६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.४९ प्रतिशत, विकास बैंक समूहमा ४.२३ प्रतिशत, वित्त समूहमा ४.६५ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.२७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ४.६१ प्रतिशत, अन्य समूहमा ३.१७ प्रतिशत, लघुवित्त समूहमा ३.४९ प्रतिशत, जीवन बीमा समूहमा ३.९१ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.९५ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता सेयर ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन अप्पर तामाकोशीको सर्वाधिक ३२ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको २८ करोड ३९ लाख रुपैयाँबराबरको कारोबारको भएको आज निफ्राको २५ करोड ३२ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २५ करोड २७ लाख रुपैयाँ, अपी पावरको २१ करोड ४७ लाख रुपैयाँ, नेपाल टेलिकमको १८ करोड ७७ लाख रुपैयाँ, एचआईडीसीएलको १६ करोड ८८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ४६ लाख रुपैयाँ, एचआईसी एसिया बैंकको १४ करोड ४३ लाख रुपैयाँ र एचआईडीसीएलको १३ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज नेप्सेमा सूचीकृतमध्ये ५ वटा म्युचुअल फन्डका इकाइमूल्यमा मात्रै वृद्धि भएको छ भने १९० वटा कम्पनीको सेयरभाउ ओरालो लागेको छ। एउटा कम्पनीको सेयरभाउ भने स्थिर रहेको छ। 

यो दिन अप्पर तामाकोशी र नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यी दुवैको सेयरभाउ ८ प्रतिशत बढीले ओरालो लागेको छ।