काठमाण्डौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको ब्याजदरमाथि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने जनाएको छ।

महासंघका अध्यक्ष कुमार कार्कीद्वारा जारी विज्ञप्तिमा बैंकहरुले अचाक्ली ब्याजदर बढाएको भन्दै राष्ट्र बैंकले हस्तक्षेप जरुरी रहेको उल्लेख छ। ‘ब्याजदर एक अंकमा हुनुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘बैंकहरुले धितो लिलामीको आतंक मच्चाएको छ।’ 

करोडौँ रकम पर्ने धितोमा रहेको घरजग्गा पचाउने नियतले बैंकहरुले ३५ दिने सूचना निकाल्ने गरेको महासंघको आरोप छ । संकटको बेलामा सामान्य मानवीयतासमेत बैंकहरुले नहेर्ने भन्दै महासंघले ३५ दिने सूचनालाई बढाएर ६ महिना बनाउनुपर्ने माग गरेको छ। 

‘संकटको अवस्थामा सामान्य मानवीयता पनि नहेरी पत्रपत्रिकामा ३५ दिने सूचना निकाल्ने र करोडौँ मूल्य पर्ने सम्पत्तिलाई थोरै ऋण लिएका भरमा लिलामी गरेर वित्तीय संस्थाले असुल गर्ने कोसिस गरेको पाइएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘धितो लिलामी गर्ने सूचना ३५ दिन होइन कम्तीमा पनि ६ महिना हुनुपर्छ र लिलामी गर्नुअघि ऋण चुक्ता गर्न १ वर्षको अवधि दिनुपर्छ।’

बैंकहरुले ओडीलगायतका कर्जा ठप्पै बनाउँदा धेरै व्यवसायीहरु व्यवसाय नै बन्द गर्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ। ब्याजदरमाथि हस्तक्षेप मुख्य अजेन्डा बनाएको महासंघको विज्ञप्तिमा भनिएको छ, ‘उद्योगी–व्यवसायीलाई ऋण चुक्ताका लागि अनावश्यक दबाब दिने काम रोक्न, सहज रुपमा ऋण उपलब्ध गराउन, धितो लिलामको समयावधि बढाएर ६ महिना पुर्याउन र ब्याजदरलाई समेत एकल अंकमा झार्ने गरी आवश्यक नीति तर्जुमा गर्नुपर्छ ।’