काठमाण्डौ । उपत्यकासहित देशका मुख्य सहरहरुमा अहिले दैनिकजसो कोरोना संक्रमणको मामिला बढ्दै गइरहेको छ।

कोरोना संक्रमण अहिले समुदायस्तरमा फैलिरहेको आशंका विज्ञहरुले गर्न थालेका छन्। कोरोना नियन्त्रणकै लागि अहिले देशका १५ जिल्लामा निषेधाज्ञा लगाइएको छ। 

उत्यकामा पनि लकडाउनमा जान सक्ने भन्दै आम सर्वसाधारणमा अबको अवस्था के होला भन्ने कौतहुलता जागिरहेकै छ। 

धितोपत्र दोस्रो बजारका लगानीकर्ताहरु यदि ठाउँ–ठाउँमा लकडाउन वा निषेधाज्ञा जारी बढ्दै जाने हो भने धितोपत्र कारोबार खुल्ला कि बन्द होला भन्ने चासो बढ्न थालेको छ। 

नेपाल धितोपत्र बोर्डले भने यदि बैंक तथा वित्तीय संस्था बन्द भएमा धितोपत्र बजार पनि नखुल्ने स्पष्ट पारेको छ। 

हाल कोरोना महामारी समुदायस्तरमै फैलिसकेपछि देशका अधिकांश सहरहरु लकडाउनमा छन्। लकडाउन भएपछि लगानीकर्ताहरुले धितोपत्र कारोबार गर्न असहज अवस्था सिर्जना हुन सक्ने भएकोले धितोपत्र बजार पनि बन्द हुने बोर्डले जनाएको हो। 

देशका मुख्य सहरहरु लकडाउन हुन थाल्नु र सरकारसमेत कोरोना महामारीबाट नागरिकलाई जोगाउने जुक्ति निकालिरहेको छ। यसै सन्दर्भमा धितोपत्र बजार बन्द होला त ? भन्ने बिजशालाको जिज्ञासामा धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भन्छन्, ‘बैंकहरु बन्द भए धितोपत्र बजार पनि खुल्दैन।’

सरकारले नै लकडाउन गरेको अवस्थामा धितोपत्र बजार पूर्णतः बन्द हुने ढुंगानाको भनाइ छ।