काठमाण्डौ । साताको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेलगत्तै नेप्से इन्डेक्स ६३.२४ अंकले बढेर २२२७ विन्दुमा उक्लिएको छ। 

नेप्से परिसूचक बढेसँगै आज ४ अर्ब ३७ करोडमाथिको सेयर कारोबार भएको छ। आज बैंकिङ समूह सर्वाधिक बढेको छ। बैंकिङ समूह ४.९८ प्रतिशतले बढेको छ। विकास बैंक समूह पनि ४.७८ प्रतिशतले बढ्न पुगेको छ। 

बजारमा ६३ अंकको बढोत्तरी हुँदा बैंकहरुमा आज सर्वाधिक ग्लोबल आइएमई बैंकको सेयरभाउ बढेको छ। यो बैंकको ९.३२ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता २२२.९० रुपैयाँ कायम भएको छ। 

त्यस्तै दोस्रोमा प्रभु बैंकको सेयरभाउ ८.६२ प्रतिशतले बढेर १९२.८० रुपैयाँ पुगेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८.५४ प्रतिशत, हिमालयन बैंकको ६.७४ प्रतिशत, सिटिजन्स बैंकको ६.३५ प्रतिशत, कुमारी बैंकको ६.१५ प्रतिशत, प्राइम कमर्सियल बैंकको ६.१० प्रतिशत, सानिमा बैंकको ५.२४ प्रतिशत, एनएमबि बैंकको ५.१३ प्रतिशत, एभरेस्ट बैंकको ४.७५ प्रतिशत, कृषि विकास बैंकको ४.७१ प्रतिशत, सिद्धार्थ बैंकको ४.६९ प्रतिशत, नेपाल बैंकको ४.६६ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.३७ प्रतिशत, नबिल बैंकको ४.०१ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३.०२ प्रतिशत र नेपाल एसबिआई बैंकको २.७५ प्रतिशतले सेयरभाउ बढेको छ। 

उता विकास बैंकहरुमध्ये सिन्धु विकास बैंकको सेयरभाउ सर्वाधिक ६.८४ अर्थात् १९.४० रुपैयाँ बढेर प्रतिकित्ता ३०२.९० कायम भएको छ।

यसैगरी ज्योति विकास बैंकको सेयरभाउ ६.६५ प्रतिशत बढ्दा नारायणी डेभलपमेन्ट बैंकको ६.०६ प्रतिशत, कामना सेवा विकास बैंकको ५.७६ प्रतिशत, लुम्बिनी विकास बैंकको ५.७४ प्रतिशत, मुक्तिनाथ विकास बैंकको ५.६९ प्रतिशत, महालक्ष्मी विकास बैंकको ५.११ प्रतिशत, गरिमा विकास बैंकको ४.२१ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ४.०४ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ३.९६ प्रतिशत, ग्रीन डेभलपमेन्टको ३.७४ प्रतिशत, कर्णाली डेभलपमेन्टको ३.७३ प्रतिशत, शाइन रेसुंगाको ३.१८ प्रतिशत र सांग्रिलाको सेयरभाउ २.९७ प्रतिशतले उकालो लागेको छ।