काठमाण्डौ । बैंकिङ समूहमा उछाल आउन सुरु भएसँगै सेयर बजार मापक नेप्से परिसूचक अलटाइम हाई नजिक पुगेको छ । बजारमा सबैभन्दा बढी हिस्सा बैंकिङ समूहले ओगटेको छ । यो समूहमा भर्खर उछाल सुरु हुन थाल्दा नै नेप्से परिसूचक अलटाइम हाईको विन्दूभन्दा ६ अंक मात्र कमको उचाईमा पुगेपछि आगामी दिनमा अझ माथि पुग्ने संभावना देखिएको छ ।
'बैंकिङ समूहको उछालको यात्रा केही दिनसम्म यसैगरी अगाडि बढ्ने हो भने नेप्से परिसूचक सजिलै १९०० माथि पुग्ने देखियो ।' बजारलाई नजिकबाट नियालिरहेका आधारभूत र प्राविधिक विश्लेषकहरुले एउटै स्वरमा भनेका छन्-'नेप्सेमा केही दिनदेखि दैनिकजसो बन्दै आएका कीर्तिमानहरुलाई पनि टपेर नयाँ नयाँ कीर्तिमान बन्ने देखियो।'
यो दिन बैंकिङ समूहको उपसूचक ४०.४ अंक(करिब ३ प्रतिशत)ले बढ्यो । यसैका कारण समेत नेप्से परिसूचक १८७४.६७ को विन्दूमा पुगेको हो ।
नेप्सेको अलटाइम हाई १८८१.४५ विन्दू हो, जुन २७ जुलाई २०१६ मा पुगेको थियो । अलटाइम हाईको विन्दू चुम्न आज नेप्से ६.७८ अंकले चुक्यो ।
समाचार स्रोतहरुका अनुसार नेप्सेबाट केही ब्रोकरहरुले लिएको लिमीट कारोबार समयअघि नै सकिएका कारण समेत आज अलटाइम हाईको रेकर्ड ब्रेक हुन सकेन । बजारमा लगानीकर्ताहरुको उल्लेख्य सहभागिता र सक्रिय खरिदबिक्रीका दौरान कारोबार समयका बीचमै केही ब्रोकरका कारोबार सीमा(लिमिट) अपुग भएकाले टीएमएस नै अवरुद्ध बन्न पुग्यो । यदि सबै ब्रोकर कम्पनीबाट लगानीकर्ताहरुले सहजै सेयर किनबेच गर्न मिल्ने भएको भए आज नै पुरानो रेकर्डलाई ब्रेक गरेर नयाँ कीर्तिमान बनाएको देख्न सकिन्थ्यो ।
स्टक डिलरको प्रवेश नजिकिने समयसँगै बजारमा पछिल्लो समय लगानीकर्ताहरु मात्र नभई स्टक ब्रोकरहरु पनि सेयर खरिद गरिरहेका छन् । वैधानिक तर अघोषित रुपमा स्टक डिलरको समेत कार्य गर्दै आइरहेका कतिपय ब्रोकर कम्पनीहरुले हिजोआज आक्रमक रुपमा सेयर खरिद गरिरहेका छन् जसका कारण समेत बजारमा आपूर्तिभन्दा माग उच्च भई कारोबार रकम र इण्डेक्स ह्वात्तै बढेको हो।
प्राविधिक विश्लेषकहरुले यसअघि नै यदि नेप्से परिसूचक १८५० विन्दूलाई ब्रेक गरेको खण्डमा परिसूचकले १९०० विन्दू पार गर्ने विश्लेषण गरेका छन् ।
हिजोआज लगानीकर्ताहरु समेत अधिक पूँजीगत लाभमा आकर्षित हुँदै कम आपूर्ति भएका महँगा कम्पनीहरु धमाधम उठाउने ट्रेण्ड नै चलेको छ ।
परिसूचक १९०० विन्दू नजिक पुग्दा समेत बैकिङमा चमक देखिन्न कारण बैंकका अधिक आपूर्तिले अल्पकालीन कारोबारीलाई आकर्षित नगर्ने तर, अल्पकालीन कारोबारका लागि आपूर्ति कम भएका महँगा कम्पनीहरुमा अत्याधिक मुनाफा कमाउने उद्देश्यले समेत परिसूचक र कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको विश्लेषकहरुको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।
यो दिन निर्जीवन बीमा समूहमा सर्वाधिक ३१६.६९ अंकको उछाल आएको छ। उत्पादन तथा प्रशोधन समूह ३००.३३ अंकले उकालो लागेको आज जीवन बीमा समूह १९०.४३ अंक, व्यापार समूह १७९.९९ अंक, लघुवित्त समूह १०६.८६ अंक, अन्य समूह ९५.२१ अंक, बैंकिङ समूह ४०.४ अंक, विकास बैंक समूह २९.१८ अंक, जलविद्युत् समूह २४.७८ अंक, वित्त समूह १५.२८ अंक र म्युचुअल फन्ड समूह ०.१५ अंकले बढेका छन्।
आज होटेल्स् समूह झिनो १.०२ अंकले घटेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १९८ कम्पनीका १ करोड ८८ लाख ४६ हजार १८१ कित्ता सेयर ६ अर्ब ८१ करोड ७७ हजार ७४ हजार ९९४ रुपैयाँमा कारोबार भएको छ।
यो दिन नेको इन्स्योरेन्सको सर्वाधिक ४२ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २९ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको २३ करोड ३९ लाख रुपैयाँ, नेपाल टेलिकमको १९ करोड ६८ लाख रुपैयाँ, नेपाल बैंकको १७ करोड २८ लाख रुपैयाँ, प्रभु बैंकको १६ करोड १ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड ७४ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १५ करोड ७१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ४७ लाख रुपैयाँ र शिवम् सिमेन्ट्सको १३ करोड ९६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज १० कम्पनीको सेयरधनीहरु मालामाल भएका छन्। एनएमबी लघुवित्त, विशाल बजार कम्पनी र शिवम् सिमेन्ट्स १० प्रतिशतले बढेको छ भने नेपाल पुनर्बीमा कम्पनी, अजोड इन्स्योरेन्स, नेपाल टेलिकम, आँखुखोला जलविद्युत्, शिवश्री हाइड्रोपावर, ङदी ग्रुप पावर र मल्टीपर्पस फिनान्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
यो दिन नेसनल हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19