काठमाण्डौ । साताको धितोपत्र कारोबारको दोस्रो दिन सोमबार पनि बजार दोहोरो अंकले बढेको छ।
आज नेप्से परिसूचक ३७.४८ अंकले बढेर २५६१.४७ को उचाइमा पुगेको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु पनि हो। आज राम्रा र बलिया कम्पनीको सूचक पनि ७.२८ अंकले बढेर ४६६.६० को विन्दुमा उक्लिएको छ।
आज कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गरेको छ। आज कारोबार रकम १० अर्ब ६१ करोड रुपैयाँ बढीको भएको छ। हिजो १० अर्ब ४४ करोड रुपैयाँ बढीको कारोबार भएको थियो।
नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार बजार सबैतिरबाट सकारात्मक देखिन्छ। ‘खासगरी ब्याजदर घट्नु, अनलाइन सुविधा हुनु र अन्यत्र लगानी गर्ने ठाउँ नभएकोले अहिले सेयर बजारमा सामान्य व्यक्तिदेखि सरकारी कर्मचारीसम्म लगानी गरिरहेका छन्’, उनले भने, ‘देशबाहिर रहेका लाखौँ नेपालीले अनलाइन सुविधामार्फत कारोबार गरिरहेका छन्, यसले बजार बढाउन निकै टेवा पुगेको छ।’
अहिलेको ३४ खर्बमाथिको बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्थाले ओगटेको २२ खर्बको बैंकिङ सेक्टर बढ्नै बाँकी रहेको उल्लेख गर्दै रौनियाले बैंकिङ सेक्टर अझै बढ्दा बजार अझै माथि जान सक्ने बताए। ‘बजार बढ्छ भन्ने कुरा गत कात्तिकमा १८०० को इन्डेक्स हुँदाखेरीको अवस्थालाई नियाल्दा पनि बुझिन्छ’, उनले भने।
अहिले बजार माथि जानुमा एनटीसी, शिवम, बिशाल बजार र पुनर्बीमाजस्ता कम्पनीको भूमिका रहेको रौनियाले बताए। ‘बैंकहरुको अहिले पनि अन्डरभ्याल्यू नै छन्’, उनले भने, ‘राष्ट्र बैंकले गर्ने अर्धवार्षिक समीक्षामा मर्जरलाई अझै जोड दिन सक्ने हुँदा बैंक तथा वित्तीय संस्थामा लगानीको राम्रो अवसर हुन सक्छ।’
सक्रिय लगानीकर्ता प्रकाश न्यौपानेले अहिले बजारमा सेक्टरवाइज बढिरहेको बताए। ‘हिजो लघुवित्तले छलाङ हान्यो, त्यो लाभांश र सेयर आपूर्तिकै कारण हो’, उनले भने, ‘आज उचालिएको बैंकिङ सेक्टर केही समय अझै चल्यो भने बजार २७५० भन्दा माथि पुग्न सक्छ।’
आज बैंकिङ सेक्टरमा देखिएको चमकलाई हेर्दा लगानीकर्ताहरु रिटर्नका आधारमा लगानी गर्न थालेको प्रस्ट देखिन सकिने न्यौपानेले बताए। यदि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारोबार तल्लो विन्दुबाट भयो भने बजार माथि पुग्न धेरै टेवा पुग्ने उनको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूह सर्वाधिक २११.३७ अंकले उकालो लागेको छ। विकास बैंक समूह ८६.४२ अंकले बढेको आज बैंकिङ समूहमा ६२.७२ अंक, होटेल्स् समूहमा २८.८६ अंक, वित्त समूहमा २२.६८ अंक, अन्य समूहमा ९.६९ अंक र म्युचुअल फन्ड समूहमा ०.१२ अंकको बढोत्तरी भएको छ।
आज निर्जीवन बीमा समूह सर्वाधिक १३१.९२ अंकले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ७४.८९ अंकले घटेको आज व्यापार समूहमा ३.९६ अंक, जलविद्युत् समूहमा १९.७३ अंक र लघुवित्त समूहमा ३१.४२ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०६ कम्पनीका २ करोड ११ हजार ५५५ कित्ता सेयर १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार ८६९ रुपैयाँमा कारोबार भएको छ।
यो दिन प्रभु बैंकको सर्वाधिक ६२ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ३३ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ३३ करोड ४४ लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको ३३ करोड १२ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको २९ करोड ४२ लाख रुपैयाँ, फस्ट माइक्रोफाइनान्सको २७ करोड ८८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ३९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २२ करोड ३२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २० करोड ४८ लाख रुपैयाँ र नेपाल बैंकको १९ करोड ८३ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ग्रामीण विकास लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। यो दिन प्रभु बैंकको सेयरमूल्यमा ९ प्रतिशत बढीको बढोत्तरी भएको छ।
यो दिन हिमालय ऊर्जा विकासको सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। आज उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य पनि ६ प्रतिशत बढीले घटेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago