-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ब्रोकर कम्पनी नम्बर ७ का रुपमा  ब्रोकरेज सेवा संचालनको अनुमति पाएको जे.एफ.सेक्युरिटीज प्रा.लि. काठमाण्डौको धर्मपथमा रहेको छ । 

सो ब्रोकर कम्पनीमा सीइओका रुपमा सन् २०११ देखि लोकेन्द्र प्रधान कार्यरत छन् । 

एमबीए उत्तीर्ण प्रधानको बैंकिङ करिअरमा ३० वर्षको अनुभव समेत छ । 

नेपाल बैंक, लुम्बिनी बैंक र नागरिक लगानीकोषमा उच्च पदमा रही कार्य गरेका अनुभवी प्रधानले नागरिक लगानी कोषमा रहँदा पूँजी बजार शाखाको प्रमुखमा रहेर समेत काम गरेका थिए ।

ब्रोकर पेशामा रहेको चार्म(आकर्षण) देखेर आफू यो क्षेत्रमा आएको प्रधानले सुनाए ।

पूँजी बजारमा रहेका ५० ब्रोकर कम्पनीमध्ये आफूलाई मध्यम स्थानमा राख्न रुचाएका प्रधान अनुशासित र नियामकको निर्देशन परिपालना गर्ने ब्रोकरका रुपमा आफ्नो कम्पनीलाई चिनाउन चाहन्छन् ।

सुरुवातीदेखिका सेवाग्राहीहरु आज पनि निरन्तर ग्राहक नै रहेकामा  दङ्ग प्रधानले ग्राहकको माया नै बलियो पक्ष भएको दाबी गरे ।

सन् २००१ देखि जे.एफ. सेक्युरिटीजको नयाँ व्यवस्थापन रहेको ब्रोकर हाउसमा २ जना प्रमोटर रहेका छन् । 

कम्पनीको हाल २ करोड चुक्तापूँजी छ भने १० जना कर्मचारीहरुले रोजगारीसमेत पाएका छन् । 

बुटवल शाखा घाटामा गएकाले बन्द गरेको उनले अब ४ ÷५ वटा ठाउँमा शाखा विस्तारका लागि आवेदन दिने तर्खर गरिरहेको बताए । उनको ब्रोकर कम्पनीले डीपी सेवा नदिएतापनि नेपाल डीपी लिमिटेडमा संयुक्त लगानी रहेको सुनाए ।

प्रधानको सेक्युरिटीजमा २५ सय कारोबारी खाता सञ्चालन छन्, जसमा संस्थागत १० प्रतिशत र बाँकी ९० प्रतिशत व्यक्तिगत कारोबार खाता रहेको छ ।

उनकोमा दैनिक ४० जनासम्मले सेयर खरिदबिक्री गर्ने गरेकामा फ्लोरमा औसत दैनिक ३० जनाको उपस्थिति रहने गरेको बताए ।

चालु आर्थिक वर्षको पुस महिनासम्म यो कम्पनीले १७५ कम्पनीका ५४ करोड रुपैयाँ रकम बराबरको सेयर खरिदबिक्री गरेको प्रधानको भनाइ छ।

मुख्यतयाः धितोपत्र खरिदबिक्री गरिरहेका प्रधानले सेयरसँग सम्बन्धित ग्राहकलाई सहजीकरण समेत गर्ने गरेका छन् । 

बिहान १० बजेदेखि बेलुकी ५ः३० सम्म कार्यालय खुल्ने उनको कम्पनीमा लगानीकर्तालाई दिनभरि नै चियापानी निःशुल्क वितरण हुने गरेको छ । 

सेयर खरिदबिक्रीमा मात्र सीमित ब्रोकरहरुलाई पोर्टफोलियो व्यवस्थापन र लगानी सल्लाहकार जस्ता कार्यहरु गर्न दिएर कार्यक्षेत्र बिस्तार गरिनुपर्नेमा उनको जोड छ ।

नियामकहरुले समेत कानून टेकेर नै आफ्नो काम गर्ने भए पनि कारबाहीको अन्तिम हतियार कारोबार रोक्काको व्यवस्थामा पुनर्विचार हुनुपर्नेमा उनको जोड छ । 

अत्यन्त जटिल घटनाका लागि मात्र कारोबार रोक्का  गर्नुपर्ने उनको सुझाव छ । 

बजारको माग र अवस्था हेरेर नीति, नियम समयानुकुल संसोधन हुनपर्ने उनको भनाई छ । 

मुलुकमा पूँजी बजारको विशिष्ट स्थान रहेको बताउँदै प्रधानले पूँजी बजार भनेर औद्योगिक स्तरको मापक समेत रहेको तर्क अगाडि सारे । रियल सेक्टरलाई स्टक एक्सचेञ्जमा सूचीकृत गराउन सके लगानीको विस्तार र विश्वव्यापी महत्व बढ्ने उनको बुझाई छ ।

नेप्सेले कहिलेकाहीं कारोबार रोक्कामा परेको जे.एफ.सेक्युरिटीजले धितोपत्र बोर्डलाई पेश गर्नुपर्ने वार्षिक प्रतिवेदन दिन ढिला भई १ पटक कारबाहीमा परेकोबाहेक अन्य कारबाही भोग्नु नपरेको प्रधान दाबी गर्छन् ।

बैंकिङ सेक्टरको मात्र बजार हिस्सा रहेकामा रियल सेक्टरको सेयर हिस्सा बढाउनुपर्ने जिकिर गर्दै प्रधानले कमर्सियल पेपर सर्टटर्मका लागि निष्कासित हुनपर्ने र बण्डहरु पनि सजिलै खरिदबिक्रीको व्यवस्था गरिनुपर्नेमा समेत जोड दिए ।

पूँजीबजारका बारेमा शिक्षा सचेतना बढाउनुपर्ने भन्दै प्रधानले लगानीकर्ताकै लेभलमा समेत अपडेट रहनुपर्ने विचार राखे । 

बैधानिक संस्थाबाट सेयर शिक्षाका तालिम तथा गोष्ठी सञ्चालन भए धेरै लगानीकर्ताहरु लाभान्वित हुने उनको ठम्याइ छ । 

नेपालको सानो अर्थतन्त्रमा सरकारले खर्च गर्न नसक्नुले बैंकिङ क्षेत्रमा तरलता कम हुन गई त्यसको प्रभाव पूँजी बजारमा प्रत्यक्ष पर्ने गरेको प्रधानको जिकिर छ ।

औद्योगिकरणको विकास र विस्तार, संस्थागत सुधार र पूँजीबजारका विषयमा बृहत् अध्ययन अनुसन्धान हुन जरुरी रहेको प्रधान बताउँछन् ।

लगानीकर्ताका आँखामा ब्रोकर नम्बर -७

बलराम सुवेदी(५२ वर्ष)पूर्व आयातकर्ता व्यापारी-स्वयम्भू
विगत ८ वर्षदेखि सेयर बजारमा सक्रिय रहेसँगै सुरुदेखि नै यहींबाट सेवा लिइरहेको छु । अहिलेसम्म त्यस्तो अफ्ठ्यारो केही छैन । सहजतासँगै राम्रो रेस्पोन्स पाएकोमा खुशी र सन्तुष्टि नै छु । म १० नम्बरमा १० नम्बर नै दिन चाहन्छु ।

महेन्द्रमान जोशी(४० वर्ष)-सक्रिय लगानीकर्ता-पेप्सीकोला
१५ वर्षभन्दा बढी समयदेखि म सेयरबजारमा आबद्ध छु । यहाँ आउन थालेको चाहिँ ३ वर्ष भयो । बजारसँग सम्बन्धित सूचनाहरुमा सहजीकरण र व्यवसायिक वातावरण बढाइदिन आग्रह गर्दछु । मैले यो ब्रोकर कम्पनीलाई १० नम्बरमा ७ नम्बर दिन चाहेँ ।

निरज पोख्रेल (२७ वर्ष) क्लिनिक सञ्चालक-गोकर्ण
५ वर्षदेखि सेयरबजारमा आबद्ध भएसँगै म यहाँ नै सेवा लिन्छु । समग्रमा राम्रो लागेर नै म निरन्तर यहीँबाट कारोबार गर्दछु । म १० नम्बरमा ८ नम्बर दिन चाहन्छु ।