काठमाण्डौ । दुईवटा राष्ट्रिय वाणिज्य बैंकको तेश्रो त्रैमासको प्रगति विवरणबाट बाँकी बैंकहरुले समेत बम्पर लाभांश वितरण गर्नसक्ने देखिएपछि लगानीकर्ताहरु वाणिज्य बैंकको सेयर धमाधम उठाउन थालेका छन् ।

सिटिजन्स बैंक इन्टरनेशनल र माछापुच्छ्रे बैंकको प्रगति निकै उत्साहप्रद देखिएपछि यसबाट यी भन्दा बलिया वाणिज्य बैंकहरुले राम्रै प्रगति गर्नसक्ने र लाभांश समेत राम्रै दिन आँकलनका बीच वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो । सिटिजन्स र माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षका लागि सेयरधनीलाई क्रमशः १० प्रतिशत र १५ प्रतिशत माथिको लाभांश दिनसक्ने उनीहरुको वित्तीय विवरणले देखाएको छ ।  

बैंकिङ समूहकै कारण आइतबारको नेप्से परिसूचकमा उछाल आएको छ भने सँगै कारोबार रकम समेत बढेर १ अर्ब माथि पुगेको छ । 
यो दिन नेप्से परिसूचक ३१.८९ अंकले बढेर १२६४.२० को विन्दूमा पुगेको छ ।

बजारमा इण्डेक्स(परिसूचक) र कारोबार रकम(टर्नओभर) एकसाथ समानान्तर ढंगले उछालको गतिमा उकालो लाग्नुले बुलिस प्रवृति सुरु भएको मान्न सकिने विश्लेषकहरुले दाबी गरेका छन् । 

यो दिन राम्रा र बलिया मानिने वाणिज्य बैंकको सेयरमा उच्च खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ७.८४ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा २.३९ अंकको बढोत्तरी देखिएको छ । 

यो दिन बैंकिंग समूहमा ४.१ प्रतिशत(४५.९४ अंक)को उछाल आयो ।  विकास बैंक समूहमा १६.९७ अंकको उछाल आएको यो दिन जलविद्युत समूह ८.८७ अंक, होटल समूह ३४.८, बित्त समूह २.१३ अंक, माइक्रोफाइनान्स समूह २६.९१ अंक, जीवन बिमा समूह २२.२५ अंक र अन्य समूह ९.७ अंकले बढे ।

निर्जीवन बिमा समूहमा ७.२२ अंकको गिरावट आएको यो दिन उत्पादनमूलक समूह ११.९२ अंकले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७१ कम्पनीका ३३ लाख २७ हजार ४८० कित्ता सेयर १ अर्ब २ करोड ४ लाख ३३ हजार ४३९ रुपैयाँमा किनबेच भयो ।

सबैभन्दा बढी नेपाल बैंकले १४ करोड ८० लाख बढीको कारोबार गर्यो । 

एनआइसी एशियाले ४ करोड ३९ लाख बढीको सेयर कारोबार गरेको यो दिन एनसीसी बैंकले ४ करोड २९ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ३ करोड ९६ लाख, सिभिल बैंकले ३ करोड ८१ लाख, प्रभू बैंकले ३ करोड ६३ लाख, एनएमबी बैंकले ३ करोड ५४ लाख, जनता बैंकले ३ करोड ४२ लाख, माछापुच्छ्रे बैंकले ३ करोड १० लाख र कुमारी बैंकले २ करोड ९४ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ४६ कम्पनीका लगानीकर्ताले गुमाए भने बाँकी १२५ कम्पनीका लगानीकर्ताले कमाए । 

यो दिन स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंकको मूल्यमा उछाल आयो । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 

स्वदेशी लघुवित्तको पनि १० प्रतिशतकै हाराहारीमा मूल्य बढेको यो दिन हिमालयन बैंकको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । यो दिन धेरै कमाउने १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंकले कब्जा गरे । 

यो दिन बेस्ट फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४.१ प्रतिशतले घट्यो ।