काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई प्रदान गर्दै आइरहेको इन्टरनेट बैंकिङ सेवा ‘बीओके क्लिक’ को स्तरोन्नति गरेर विभिन्न आकर्षक सेवा तथा सुविधाहरु थपेको छ। 

बैंकले उच्चस्तरको परिमार्जित इन्टरनेट बैंकिङ सेवा ‘बीओके क्लिक’ आफ्ना संस्थागत ग्राहकसमक्ष प्रस्तुत गरेको हो। जसअन्तर्गत विभिन्न नयाँ सुविधाहरु जस्तै– खाताको जानकारी, बहु खाताहरु लिंक र नियन्त्रण, अन्तरबैंक रकमान्तर, आईपीएस सुविधा, संस्थाको कर्मचारीको तलब व्यवस्थापन तथा तलब रकमान्तरणलगायत छन्। 

यी सुविधाबाट ग्राहकले बैंकिङ कारोबारका लागि बैंक आइरहनुपर्ने समस्यालाई निवारण हुनुका साथै समयसापेक्ष बैंकिङ सेवाको अनुभव गर्न सक्ने बैंकको विश्वास छ। 

यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टी लेयर अथेन्टिकेसनको व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरिएको बैंकले जनाएको छ। 

बैंकले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।