काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्ष २०७५/७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) र ६ प्रतिशत बोनस सेयर गरी कुल १७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको २५ औँ वार्षिक साधारणसभामार्फत पारित गरी लाभांश वितरण गरिने बैंकले जनाएको छ ।

बैंकको हालै सार्वजनिक गत आर्थिक वर्ष २०७५/७५ को चौथो त्रैमास विवरणअनुसार बैंकले १ अर्ब ३० करोड रुपैयाँ वितरणयोग्य मुनाफ आर्जन गरेको छ। 

अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ४६.७० प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब ३२ करोड रुपैयाँ थियो।