-भक्तराज रसाइली 

काठमाडौ । आगामी मङ्सिर २३ गते(आइतबार)देखि ब्रोकरले विश्वास गरेका सीमित सेयर  लगानीकर्ताहरुलाई अनलाइन ट्रेडिङका लागि युजर नेम र पासवर्ड दिने तयारीमा नेप्से लागे पनि त्यसका लागि महत्वपूर्ण कडी मानिएको बैंक र डिम्याट इन्टीग्रेसनमा भने गञ्जागोल स्थिति सिर्जना गरिएको छ । 

विश्वस्तरीय अनलाइन ट्रेडिङ लञ्च भएको दाबी गर्ने एक्सचेञ्जले अनलाइन ट्रेडिङको पूर्वाधारका रुपमा रहेको बैंक र डिम्याट इन्टीग्रेसनमा चरम लापरबाही र हेल्चेक्र्याई गरिरहेको सरोकारवालाहरुले आरोप लगाएका छन् । 

डिम्याट इन्टीग्रेसन नगर्दा कथम्कदाचित सेयरधनीले १ हजार कित्ता बेच्दा भूलबश एउटा शून्य बढी भयो अनि १० हजार कित्ता बिक्री भनेर अर्डर हालिएमा सेयरधनीको खातामै नभएको ९ हजार कित्ता सेयर क्लोज आउट्मा पर्ने गर्दछ, यसबाट सेयरधनीलाई निक्कै मार पर्न सक्दछ । त्यसैगरी, बैंक इन्टीग्रेसन नभई अनलाइन कारोबारमा जाँदा खरीद अर्डर दिने लगानीकर्ताबाट पाउनुपर्ने खरीद बिलबापतको पैसा नउठ्ने जोखिम समेत हुन्छ । 

एक्सचेञ्जका आइटी प्रमुख निराञ्जनसिंह नायकले पनि मंसिर २३ गते नै बैंक इन्टीग्रेसन नहुने प्रष्ट पारे । उनको भनाईमा सो दिन डिम्याट चाहिँ हुनसक्ने संभावना छ । 

‘आगामी जनवरी १ देखि हामी फूलफेजको अनलाइन ल्याउँछौ र सोही मितिदेखि हामी बैंक र डिम्याट खाता इन्टिग्रेसन गर्नेछौं ।’ नायकले दाबी गर्दै भने–‘बैंक इन्टीग्रेसनका लागि प्रभू, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट बैंकले चासो दिएका छन् । यसको परीक्षण कार्य भइरहेको छ ।’ पछिल्लो समय बैंक इन्टीग्रेसनका लागि सिद्धार्थ बैंकले समेत चासो दिएको छ । 

स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष प्रियराज रेग्मीले बैंक र डिम्याट इन्टीग्रेसनको सुनिश्चितताबिना नै २३ गतेबाट लगानीकर्ताहरुलाई युजर नेम र पासवर्ड दिंदा सेयर कारोबारमा जोखिम बढ्नसक्ने र यसले अप्ठ्यारो स्थिति सिर्जना गर्नेतर्फ बेलैमा सचेत हुनुपर्नेमा जोड दिए । 

अर्का एक ब्रोकरका अनुसार बैंक र डिम्याट इन्टीग्रेसनबिनाको सेयर कारोबार जोखिमपूर्ण हुनेछ । यसकारण पनि इन्टीग्रेसनमा चासो दिएर आएका बैंकहरुलाई सकेसम्म चाँडो र कुनै झञ्झट नदिई सिस्टममा ल्याउन नेप्सेले भरपूर सहयोग गर्नुपर्ने उनको सुझाव छ ।

इन्टीग्रेसन बिनाको दोश्रो बजारमा विश्वासको वातावरण धमिलिनसक्ने र बजार विस्तारमा अप्ठ्यारो परिस्थिति आउने भएकाले अनलाइनमा सबै बैंकलाई नै इन्टीग्रेसन गर्न आवश्यक रहेको जानकार बताउँछन् ।

पछिल्लो समय बैंक इन्टीग्रेसनका लागि चासो दिएका बैंकहरुलाई समेत वाइको र नेप्सेकै केही कर्मचारीले दुःख दिएका र यो बिषयमा खेल्न खोजेका गम्भीर आरोप समेत लागेको छ । प्रभू बैंकस्थित स्रोतले बैंक इन्टीग्रेसन गर्न खोज्दा वाईकोले आनाकानी गरी दुःख दिइरहेको दाबी गरेको छ । 

हालसम्म एउटै बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक मात्रै इन्टीग्रेसन भएकाले यसमा समेत स्वार्थ समूहको चलखेल भएको आशंका गरिएको छ । कुनै स्वार्थबाट प्रेरित भएर वाइको र नेप्सेका केही सीमित कर्मचारीहरुले इन्भेष्टमेन्ट बैंकलाई मात्र आगडि बढाउन खोजेका हुन् कि भन्ने शंका उत्पन्न भएको सेयर विश्लेषक रविन्द्र भट्टराईको भनाई छ ।

यसैबीच, फूलफेजको अनलाइनका लागि सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले सेयरलगानीकर्ताहरुको सम्पूर्ण रियल टाइम डाटाबेस नेप्सेलाई उपलब्ध गराइसकेको छ । सेयरधनीहरुको डाटा नेप्सेले आफ्नो सिस्टममा हाल्दा क्लोजआउटको समस्या पनि नआउने स्रोतको दाबी छ ।