काठमाण्डौ । बजार बढेको मौका छोपेर लगानीकर्ताले प्रफिट बुकलाई जारी राख्दा मंगलबार बजार परिसूचक(नेप्से) ११.७ अंकले घटेर १३०० मुनि सीमित बन्न पुग्यो । 

विगत केही दिनको अवधिमा बढेका समूहका कम्पनीहरुको सेयर बिक्री गरेर प्रफिट बुक गर्ने क्रमले अघिल्लो दिन झै यो दिन समेत निरन्तरता पाएपछि नेप्से परिसूचकमा गिरावट आएको हो । 

नेप्से घटेसँगै कारोबार रकम समेत घटेको छ । 

लगानीकर्ताहरु बैंक तथा बित्तीय संस्था र बिमा कम्पनीहरुबाट जलविद्युत कम्पनीतर्फ सिफ्ट भएका देखिएको छ। यहीकारण यो दिन हाइड्रो समूहको सूचक ४५.४९ अंकले बढ्यो ।

यसपटक बजार बढ्न थालेसँगै लगानीकर्ताहरुले आफ्नो लगानीलाई डाइभर्सीफाई गर्दै अगाडि बढिरहेका देखिएको छ । सुरुमा बैंकिङ समूहका स्टक उठाएका लगानीकर्ताहरु त्यसपछि माइक्रोफाइनान्स, विकास बैंक, जीवन बिमा र निर्जीवन बिमा समूहको स्टकतर्फ तानिएका थिए । बजार बढ्दै जाँदा यसरी फरक फरक समूहका स्टकमा लगानीकर्ता आकर्षित हुनु भविष्यका लागि राम्रो संकेत भएको जानकार बताउँछन् । उनीहरुले लगानीकर्ताको यो प्रवृतिले बजारमा सुरु भएको बुल रनलाई टिकाइराख्ने दाबी समेत गरेका छन् । 

बित्त समूह १.०३ अंकले बढेको यो दिन बाँकी सबै समूहको सूचकमा रातो पोतियो । 

बैंकिङ समूह ९.८२ अंकले घटेको यो दिन विकास बैंक समूहमा २.७३ अंक, माइक्रोफाइनान्स समूहमा १८.०२ अंक, जीवन बिमा समूहमा २०१.८२ अंक, निर्जीवन बिमा समूहमा २०५.३१ अंकको गिरावट आयो । 

होटल समूह २४.८८ अंकले घटेको यो दिन व्यापार समूहमा ४.८२ अंकको गिरावट आयो ।

यो दिन लगानीकर्ताहरुले मूल्य बढेको मौका छोपी राम्रा कम्पनीको सेयरमा बिक्री चाप बढाउँदा सेन्सेटिभ इण्डेक्स २.७४ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.७२ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७६ कम्पनीका २९ लाख ६७ हजार ३५८ कित्ता सेयर ९५ करोड ८६ हजार ९३६ रुपैयाँमा कारोबार भयो । 

यो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले १६ करोड बढीको कारोबार गर्यो । यो कम्पनीमा बिक्री चाप देखिएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले तोकेको बुक क्लोजको मिति नजिकिँदै गर्दा कम्पनीबाट घोषित ४८.५ प्रतिशत लाभांश बुक गर्ने र यही बेला बढेको मूल्यमा सेयर बेचेर प्रफिट बुक गर्नेबीचको प्रतिस्पर्धाले केही दिनदेखि नेपाल लाइफको उच्च कारोबार भइरहेको छ । 

यो दिन नेपाल बैंकले ९ करोड ३१ लाख बढीको कारोबार गर्यो । यस्तै,अपर तामाकोशीले ३ करोड ७९ लाख बढीको कारोबार गरेको यो दिन कुमारी बैंकले ३ करोड ७६ लाख,  सानिमा माई हाइड्रोले ३ करोड ४० लाख, छिमेक लघुवित्तले २ करोड ९५ लाख, चिलिमे हाइड्रोले २ करोड २३ लाख, सिद्धार्थ बैंकले १ करोड ९२ लाख, प्रभू बैंकले १ करोड ७७ लाख र नेपाल इन्स्योरेन्स कम्पनीले १ करोड ७० लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सानिमा माई हाइड्रो र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कुस्त कमाए । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेपछि पोजिटिभ सर्किट लाग्यो ।

यूनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ८.१८ प्रतिशतले सम्पत्ति बढाए। 

यो दिन धेरै गुमाउने १० कम्पनीमा ५ स्थान बिमा कम्पनीले कब्जा गरे । सबैभन्दा बढी राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।