काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरु खोजिरहेको बताएका छन्।
सिंहदरबारमा सोमबार अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुसँग गरिएको छलफलमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रुपमा लागिरहेको बताएका हुन्। ‘मैले नै यो बैठकको आयोजना गरेको हुँ। अर्थतन्त्रमा देखा परेको दवावलाई कम गर्न लगातार छलफलमा छौँ। बैंकको ब्याजदर घटाउने उपायहरु खोजिरहेका छौँ। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ’, उनले भने।
‘विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महसुस हुँदैछ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरुसँग बृहत छलफल गर्ने सोच्दैछु। हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दवावलाई सकारात्मक दिशामा लैजान सक्छौँ।’
अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार रहेको दाहालले बताए। ‘यसमा भूकम्प, कोभिड, रूस र युक्रेनको युद्ध लगायतका कारण छन्। आयात, निर्यातसम्बन्धि निर्यातमा भएका सीमाहरुको कारण पनि छ’, उनले भने, ‘राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रुपमा लागेका छौँ।’
‘अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदैछौँ। घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौँ’, उनले भने, ‘त्यसकारण यसमा पनि हामी छिटै निष्कर्षमा पुग्छौँ।’
बैंकबाट ऋण लिने तर तिर्दिनँ भन्नेहरुलाई छोड्नु नहुने प्रधानमन्त्री दाहालले बताए। ‘त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन’, उनले भने, ‘हुलहुज्जतको सहज सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ।’
छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृतलगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुले बैंक र कर्मचारीहरुको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आमनागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरुप आफूहरु अगाडि बढ्ने बताए।
बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम रायलगायतका पदाधिकारी उपस्थित थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago