काठमाण्डौ । धितोपत्र बोर्डले बैशाख २६ र २७ गते धितोपत्र बजारको इतिहासमै पहिलोपटक पूँजीबजार प्रदर्शनी आयोजना गर्ने भएको छ ।

बोर्डले सोमबार एक पत्रकार सम्मेलन गरी प्रदर्शनीको आधिकारिक सूचना बाहिर ल्याएको हो । 

आगामी जेठ २५ देखि आफ्नो स्थापनाको २५ औं वर्षमा प्रवेश गरी रजत जयन्ति वर्षमा प्रवेश गरेको अवसरमा प्रदर्शनी आयोजना गरिएको बोर्डको प्रष्टोक्ति छ ।

प्रदर्शनीमा नेपाल स्टक एक्सचेन्ज, सीडिएस एण्ड क्लियरिङ्ग लि., धितोपत्र दलाल कम्पनी, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष, क्रेडिट रेटिङ्ग कम्पनी, डीपी र आस्वा सेवा प्रदान गर्ने कम्पनीहरु, सूचिकृत कम्पनीहरुका साथै नेपाल राष्ट्र बैंक, बीमा समिति तथा आइक्यानको सहभागिता रहने बताइएको छ । मेलामा करिब १७० वटा स्टल रहने बोर्डले जनाएको छ । 

बजार सहभागीहरुले आफ्नो स्टलमार्फत आफ्नो संस्था र संस्थाले प्रदान गर्ने धितोपत्र बजार सेवा बारे लगानीकर्ताहरुलाई जानकारी गराउने छन् ।

धितोपत्र बजार, सिडिएस तथा बजार पूर्वाधार व्यवस्था, मर्चेन्ट बैकिङ्ग व्यवसाय तथा धितोपत्र दलाल व्यवसाय सम्बन्धमा प्रस्तुती र अन्तरक्रिया कार्यक्रम समेत संचालन हुने बताइएको छ ।

धितोपत्र बजार सम्बन्धि अध्ययन सामाग्रीहरु निःशुल्क वितरण गरिने छ ।