काठमाण्डौ । बोनस सेयरका लागि सानिमा माई हाइड्रोपावर लिमिटेडको सेयरमूल्य सोमबार समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । नेप्सले सानिमा माई हाइड्रोपावर सेयरमूल्य समायोजन गर्दैै प्रतिकित्ता १६६.३६ रुपैयाँ कायम गरेको छ ।

समायोजित मूल्यअनुसार अब यो कम्पनीको सेयर कारोबारमा आउने छ । 

सानिमा माई हाइड्रोपावरको प्रस्तावित बोनस सेयर संस्थाको यही पुस २७ गते हुने आठौँ वार्षिक साधराणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन् । बोनस सेयर कर प्रयोजनार्थ कम्पनीले ०.५२ प्रतिशतले हुने आउने रकमबराबरका नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव पनि गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने हिजो आइतबार अन्तिम मौका रहेको थियो । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले आज सोमबार एक दिनका लागि बुक क्लोज गरेको छ ।