काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य शुक्रबार समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अरुण भ्यालीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार यो कम्पनीले सेयर प्रतिकित्ता २३४ रुपैयाँ कायम भएको छ। यसअघि यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २४६ रुपैयाँ रहेको छ। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

कम्पनीले गत आर्थिक वर्षका लागि ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको आउँदो पुस ८ गते हुने वार्षिक साधारणसभाले पारित गर्नेछ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले आज (मंसिर २६ गते) बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो (मंसिर २५ गते) सम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।