काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ३० प्रतिशत हकप्रद निष्कासनको अनुमति दिएको छ ।

गत माघ १४ गते बोर्डले शिखर इन्स्योरेन्सलाई १०ः३ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसँगै अब शिखर इन्स्योरेन्सले १०० अंकित मूल्यमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

शिखर इन्स्योरेन्सले गत साउन २८ गते सम्पन्न १४ औँ वार्षिक साधारणसभाबाट हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सभाबाट पारित भएसँगै शिखर इन्स्योरेन्सले हकप्रद जारीका लागि बोर्डसँग अनुमति मागेको थियो ।

यो हकप्रदलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ३ (प्लस) रेटिङ प्रदान गरेको छ । यो रेटिङले तुलनात्मक रुपमा यो हकप्रदमा लगानी गर्दा सुरक्षित रहेको जनाउँछ ।

हाल शिखर इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि शिखर इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ३७ करोड ४५ लाख रुपैयाँको हाराहारीमा पुग्नेछ ।

हकप्रद सेयर बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल रहेको छ ।