काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले निकट भविष्यमै लागू गर्न लागेको केन्द्रीकृत ग्राहक पहिचान विवरण (सी–केवाईसी) सम्बन्धी निर्देशिकामा तिर्नुपर्ने दस्तुर महँगो भएको भन्दै विरोध सुरु भएको छ।

सी–केवाईसी सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका २०७७ को अनुसूची ६ र अनुसूची ८ मा केवाईसी दर्ता शुल्क रु.२०० र दर्ता भइसकेको केवाईसी विवरण प्रयोग गर्न लाग्ने शुल्क रु.१०० प्रस्ताव गरिएकोमा लगानीकर्ताहरुले विरोध गर्न थालेका हुन्। सी–केवाईसी अनिवार्य वा ऐच्छिक लागू गराउने जिम्मेवारी धितोपत्र बोर्डसँग रहेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले बताए। केवाईसी दर्ता प्रतिनिधिकहाँ एकपटक कोही एक व्यक्तिले केवाईसी दर्ता गर्दा रु. २०० अनिवार्य ग्राहकबाट लिने व्यवस्था रहेको उनले जानकारी दिए। कुनै एक व्यक्तिको केवाईसी विवरण अन्य दर्ता प्रतिनिधिले डाउनलोड गरी विवरण प्रयोग गर्न भने रु.१०० ग्राहकले तिर्नु नपर्ने उनको भनाइ छ।

केवाईसी दर्ता प्रतिनिधिका रुपमा भने निक्षेप सदस्य (डीपी), ब्रोकर, लगानी व्यवस्थापक, मर्चेन्ट बैंकर्स, बजार निर्माता, म्युचुअल फन्ड रहनेछन्। यी प्रतिनिधिहरुकोमा कोही एक नयाँ व्यक्तिले सुरुमा एकपटकका लागि केवाईसी दर्ता गर्दा अनिवार्य रु. २०० तिर्नुपर्ने हुन्छ। यसपछि सोही व्यक्तिले विभिन्न प्रयोजनका लागि निक्षेप सदस्य (डीपी), ब्रोकर, लगानी व्यवस्थापक, मर्चेन्ट बैंकर्स, बजार निर्माता, म्युचुअल फन्डमा सेवा लिँदा भने ग्राहकले डाउनलोड शुल्क रु. १०० तिर्नुपर्दैन। 

केवाईसी विवरण आवश्यक पर्ने संस्थाले नै डाउनलोड शुल्कबापतको रु. १०० तिर्नुपर्ने हुन्छ। यसबाट व्यक्तिले अन्य संस्थाबाट सेवा लिँदा नागरिकताको प्रतिलिपि, फोटोलगायतमा खर्चको बचत हुन्छ भने सेवा प्रवाह गर्ने संस्थाले समेत ग्राहकको केवाईसी विवरण अभिलेख राखिरहनुपर्दैन।

यसलाई अझ सहज तरिकाले बुझाउँदा मानिलिउँ एबीसी भन्ने व्यक्तिले सिद्धार्थ क्यापिटलमा सुरुमा केवाईसी भर्दा रु. २०० तिर्नुपर्छ। जुन स्थायी रुपमा ती व्यक्तिले उक्त केवाईसी विवरण भर्दा रु. २०० तिरेबापत आईडीसहितको कन्फर्मेसन लेटर पाउँदछ। उक्त कन्फर्मेसन लेटर डिम्याट खातामा खोलर पाएजस्तै छुट्टै आईडी हुन्छ। अब एबीसीले ब्रोकर नम्बर ३८ बाट सेयर कारोबार गर्न जाँदा केवाईसी फर्म भर्नुपर्दैन, सोही कन्फर्मेसन लेटर लगेर जाँदा हुन्छ। अनि ब्रोकर नम्बर ३८ ले नै एबीसीको केवाईसी डाउनलोड गर्दा रु. १०० तिर्नुपर्छ। अर्थात् एकपटक रु. २०० तिरेर सी–केवाईसीमा आबद्ध भएपछि नागरिकता र फोटो बोकेर संस्थापिच्छे केवाईसी फाराम भर्नुपर्दैन। आफूसँग रहेको सी–केवाईसी कन्फर्मेसन लेटरमा रहेको आईडीले नै जहाँसुकै केवाईसी भर्न निःशुल्क भर्न सकिन्छ।