– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारमा यो साताको पहिलो दिन बजार करेक्सन आयो भने दोस्रो दिन बजार सामान्य अंकले बढेको छ। सेयर कारोबार र भोलुमका आधारमा भने विस्तारै दुवै घट्दै गएको देखिन्छ। यसले लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिन्छ। बेच्नेहरु पनि घटेर बेच्न नचाहेको र किन्नेले पनि आक्रमक रुपमा खरिद नबढाउँदा कारोबार तथा सेयर भोलुममा कमी आएको विश्लेषकहरु बताउँछन्। 

आज हामीले बजारको पछिल्लो अवस्थालाई विभिन्न प्राविधिक औजारहरुमार्फत विश्लेषण गर्ने कोसिस गरेका छौँ।

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 

सेयर बजारको पछिल्लो न्यून विन्दु २२६० देखि हालसम्मको अवस्थालाई इलिअट वेभमार्फत नियाल्ने हो भने इलिअट वेभको माइनर डिग्रीमार्फत बजारको अवस्था हेर्दा वेभ १ मा २६०७ सम्म बजार बढेको देखिन्छ।

त्यसैगरी वेभ २ मा सामान्य करेक्सन भएर २४८१ सम्म बजार आएको देखिन्छ। वेभ ३ मा बजार बढेर लगभग २९८० सम्म पुगेको देखिन्छ। वेभ ४ मा हालको करेक्सन २७५० सम्म बजार आउन सक्ने देखिन्छ। त्यसपछि वेभ ५ मा बजार बढोत्तरीका साथ बजार पहिलेको रेकर्ड ब्रेक गरेर बजार लगभग ३३०० सम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवामा २८०६ सम्म, ०.३८ प्रतिशतको टेवामा २७०५ सम्म तथा ०.५ प्रतिशतको टेवामा २६१६ सम्म र ०.६१ प्रतिशतको टेवामा २५३४ सम्म बजार आउन सक्ने देखिन्छ। (जुन तस्बिरमा हेर्न सकिन्छ)

एमएसीडी लाइनका आधारमा 

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई गत जनवरी २५ मा माथिबाट काटेको देखिन्छ र जुन हालसम्म पनि  भ्यालिड नै देखिन्छ (हेर्नुहोस् रातो एरो)। हिस्टोग्राम नकारात्मक र क्रमशः लामा–लामा र बोल्ड बन्दै गएका छन् (हेर्नुहोस् कालो एरो) यो आधारमा बजारमा बिक्रीचाप परेको अनुमान लगाउन सकिन्छ।

 

बोलिंगर ब्यान्डका आधारमा

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले केही समय पहिला अपर  ब्यान्डलाई छोएर तल झरेको छ। योसँगै मध्य रेखाभन्दा तल झरेको देखिन्छ (हेर्नुहोस् कालो एरो)। विगतमा यदि मूल्यरेखा मध्य रेखाभन्दा तल झर्छ भने मूल्यरेखाले तल्लो ब्यान्डसम्म छुन सक्ने सम्भावना बढी हुन्छ (हेर्नुहोस् गाढा रातो एरो)। योसँगै मथिल्लो ब्यान्ड पनि खुम्चिएर तल झरेको देखिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ५५ मा रहेको छ। जसको अर्थ हुन्छ ओभर बट जोनमा छ। अघिल्लोपल्ट यो विन्दु ७३ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई २० मा आउँदा अघिल्लोपल्ट बजारमा बुलिस यात्रा तय भएको थियो। हाल बजार न्युट्रल  जोनमा रहेकोले लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहेको देखिन्छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २९३२
  • प्रतिरोध २– २९८८
  • प्रतिरोध ३– ३०५२

पिभट प्वइन्ट : २८६८

घटेमा सपोर्ट 

  • सपोर्ट १– २८१२
  • सपोर्ट २– २७४८
  • सपोर्ट ३– २६९२

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।