काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोही पनि लगानीकर्ताले लगानी गर्दा बौद्धिक सम्पत्ति कानुनको बारेमा जान्नुपर्ने बताएका छन्। 

डा. रुद्र शर्मा र सीए युद्ध ओलीद्वारा लिखित पुस्तक ‘बौद्धिक सम्पत्ति कानुन, समाज र आर्थिक विकास’ को लोकार्पण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा चाहने र सोका लागि बौद्धिक सम्पत्ति कानुनको महत्व निकै धेरै रहेको बताए। उनले उक्त पुस्तकले लगानीकर्तालाई बौद्धिक सम्पत्तिका बारेमा बुझ्न थप सहयोग पुर्याउने धारणा राखे।

कार्यकममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले पेटेन्ट, कपिराइट, ट्रेडमार्क, डिजाइन, समाज र आर्थिक विकासको परिवर्तन गर्न सक्नेबारेमा विस्तृत रुपमा आएकाले यो पुस्तक धेरै नै उपयोगी रहेको बताए । बौद्धिक सम्पत्तिको महत्व बुझे यसबाट उचित लाभ लिन सकिने उल्लेख गर्दै उनले निजी क्षेत्र बौद्धिक सम्पत्ति कानुन निर्माणमा समेत लाग्नुपर्ने र यसले लगानीकर्ताको लगानीलाई थप सुरक्षित बनाउन मद्दत पुग्नेसमेत बताए। 

कार्यक्रममा उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले बौद्धिक सम्पत्ति क्षेत्रमा सो पुस्टक निकै नै उपयोगी हुने विश्वास व्यक्त गरे । पछिल्लो समय बौद्धिक सम्पत्ति चोरीका उजुरीहरु बढीरहेका बेलामा बौद्धिक सम्पत्ति कानुन बुझाउनका लागि सो पुस्तक निकै नै उपयोगी हुने विश्वाससमेत उनले व्यक्त गरे। बौद्धिक सम्पत्ति कानुनलाई राम्रोसँग केलाइएको सो पुस्तक पुस्तक नेपाली र अंग्रेजी भाषामा रहेकाले सबैले सहज रुपमा बुझ्न सक्ने उल्लेख गर्दै उनले सो पुस्तक बौद्धिक सम्पत्ति कानुन बुझ्न चाहाने जो कोहिलाई पनि उपयोगी हुने बताए। 

न्यायाधीश अनीलकुमार सिन्हाले सो पुस्तक अहिलेको बौद्धिक सम्पत्ति क्षेत्रका लागि आवश्यक भएको बताए। अहिले संविधानले बौद्धिक सम्पत्तिलाई सम्पत्तिको रुपमा ग्रहण गरेको स्मरण गर्दै उनले बौद्धिक सम्पत्तिसँग सम्बन्धित कानुन बुझ्न चाहाने जोकोहीलाई यो पुस्तक निकै नै उपयोगी हुने बताए।

पुस्तकमा नेपालमा बौद्धिक सम्पत्तिसम्बन्धी कानुनका बारेमा विभिन्न तथ्यहरु प्रस्तुत गरिएको छ भने सो कानुनलाई समाज र आर्थिक विकासमा जोडेर विश्लेषण गरिएको छ। पुस्तकका लेखकमध्ये डा. शर्मा संविधानविद्समेत हुन् भने ओली पसाले चार्टर्ड अकाउन्टेन्ट हुन्।