काठमाण्डौ । वाणिज्य बैंकहरुबीच ब्याजदरलाई निश्चित सीमामा राख्न भएको भद्र सहमतिको सकारात्मक प्रभाव बजारमा देखिएको छ । आगामी दिनमा ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धाको अन्त भई स्थिरता कायम हुने र यसले धितोकर्जाका लागि धेरै ब्याज तिर्नुपर्ने अवस्था अन्त हुने कुराले लगानीकर्तामा थोरै भए पनि आशाको सञ्चार भएको देखिएको छ । यहीकारण, बिहीबार नेप्से परिसूचक लामो समयसम्म बढोत्तरीकै गतिमा दौडियो । तर, अन्तिम समयमा आएर केही घटी बन्द हुँदा झिनो अंकले मात्र बढ्यो । यो दिन नेप्से परिसूचक ०.६२ अंकले मात्र बढ्यो ।
नेप्से परिसूचक स्थिर हुँदा कारोबार रकमतर्फ भने ठूलो गिरावट आयो । यो चाहि बजारको भविष्यका लागि राम्रो संकेत मानिन्न । तर, बजारलाई बुम गर्ने बिषय बहुप्रतिक्षित मौद्रिक नीतिले समेट्न सकेको खण्डमा ब्याजदरको भद्र सहमतिबाट थोरै आशावादी देखिएका लगानीकर्ता उत्साहित हुने थिए ।
पछिल्ला केही दिनहरुमा बजारमा प्राथमिक बजारको समेत प्रभाव परेको देखिन्छ । ३ दिनअघिदेखि त संस्थागत लगानीकर्ताहरुलाई उत्साहित बनाउने गरी एनएमबी बैंकको एफपीओमा आवेदन दिने कित्ताको सीमा ५० लाख पुर्याइएपछि यसले संस्थागत लगानीकर्ताहरुलाई त्यसतर्फ आकर्षित गरेको छ । संस्थागत लगानीकर्ता एफपीओ खरीदतर्फ लाग्दा दोश्रो बजार अपेक्षित बढ्न नसकेको समेत कतिपय विश्लेषण गर्छन् । ठूला मानिएका कैयन लगानीकर्ता मनिटरी पोलिसीको समेत पर्खाईमा बस्दा त्यसले समेत बजार प्रभावित भएको देखिएको छ ।
साताको अन्तिम कारोबार दिन बजार समूहहरुतर्फ मिश्रित परिणाम देखियो । बैंकिङ समूह ०.३४ अंकले बढ्यो भने जलविद्युत समूह ०.५४ अंक, बित्त समूह पनि ०.५४ अंक, बिमा समूह ७.३८ अंक र अन्य समूह ७.२६ अंकको बढोत्तरी देखियो ।
उता, व्यापार समूह २.८७ अंकले घट्यो भने होटल समूह ६४.९७ अंकको पहिरो गयो । विकास बैंक समूह ०.९९ अंक तथा उत्पादनमूलक ०.२३ अंक र माइक्रोफाइनान्स समूह ६.५५ अंकले घटे ।
यो दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.१२ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स भने ०.०४ अंकले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६३ कम्पनीका ६ लाख २३ हजार २ सय ११ कित्ता सेयर १९ करोड ६६ लाख १४ हजार १ सय ५२ रुपैयाँमा किनबेच भयो ।
यो दिन कुनै पनि कम्पनीले १ करोडमाथिको कारोबार गर्न सकेनन् । सबैभन्दा बढी नवील बैंकको ९३ लाख २९ हजारको संस्थापक सेयर किनबेच भयो । यस्तै, प्रोग्रेसिभ फाइनान्सको समेत ८० लाख बराबरको संस्थापक सेयरको कारोबार भयो ।
बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकले ७७ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ५५ लाख, प्राइम लाइफले ५४ लाख, नेपाल बैंकले ५१ लख, बैंक अफ काठमाण्डूले ५० लाख, एभरेष्ट बैंकले साढे ४७ लाखको हाराहारीमा कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ७.०५ प्रतिशतले वृद्धि भयो ।
यो दिन नेपाल हाइड्रो डेभलपर्स लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । सिन्धु विकास बैंकका लगानीकर्ताले समेत ७ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago